दमक/ रोटरी क्लब अफ दमकले रोटावर्ष २०२४/०२५ का लागि आफ्ना वार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको छ । बुधबार दमकमा पत्रकार सम्मेलन गरी रोटरीका कार्ययोजनाहरु सार्वजनिक गरिएको हो । जसअनुसार विभिन्न ७ वटा क्षेत्र र विषयमा क्लबले विशेष प्राथमिकता दिएको अध्यक्ष विक्रम कुमार साहले जानकारी गराउनुभयो ।
शुरुमा यही साउन २० गते नयाँ कार्यसमितिको पदस्थापन गरिने भएको छ । त्यसपछि मातृ तथा बाल स्वास्थ्य शिविर गर्ने, नयाँ सदस्यता र नयाँ क्लब विकास तालिम, संस्थागत विकास सम्बन्धी तालिम, छात्रामैत्री २ वटा शौचालय बनाउने,
मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने, समुदायमा योग शिविर संचालन गर्ने, शान्ति तथा द्वन्द्व व्यवस्थापनको कार्य गर्ने, एक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गर्ने, आँखा तथा दन्त स्वास्थ्य शिविर संचालन गर्ने, २४ अक्टोबरमा पोलियो दिवस मनाउने लगायतका योजनाहरु अघि सारिएको छ । क्लबले अघि सारेका कार्ययोजनाहरुलाई पूरा गर्न करिब १६ लाख ५० हजार रकम खर्च हुने पनि त्यस अवसरमा अध्यक्ष साहले बताउनुभयो । पत्रकार सम्मेलनमा क्लबका पूर्वअध्यक्ष सन्दीप (दिपु) चापागाईले दमकमा बिरामीहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर ब्लड स्याम्प्लिङ मेशिन राख्ने र त्यसका लागि ५० लाख खर्च हुने अनुमान गरिएको जानकारी गराउनुभयो । यस्तो मेशिनका लागि दमक नगरपालिकाले पनि आधा रकम व्यहोर्नेबारेमा कुराकानी भइरहेको उहाँले बताउनुभयो । निवर्तमान अध्यक्ष पदम बरालले स्वागत गरेको कार्यक्रमको संचालन भने क्लबका सचिव डा. प्रेम देवकोटाले गर्नुभएको थियो ।
अध्यक्ष विक्रम कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा क्लबमा आवद्ध प्रतिष्ठित युवा व्यक्तित्वहरु क्रमशः गौतम गुप्ता, सागर श्रेष्ठ, भूपेन्द्र कोइराला, भेनस श्रेष्ठ, केशव कुमार अग्रवाल, शान्तिराम निरौला, सन्दीप साहेवाला लगायतको विशेष उपस्थिति रहेको थियो भने दमकका अधिकांश क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।
अध्यक्षमा विक्रम साह, २० साउनमा पदस्थापन
रोटरी क्लब अफ दमक वर्ष सन् (२०२४-२०२५) का लागि विक्रम कुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भइसकेको छ । नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन यही साउन २० गते दमकको नेपाली रिका होटलमा भव्य र सभ्य रुपले सम्पन्न गर्ने कार्यक्रम तय भएको छ ।
नयाँ कार्यसमितिको आईपीपीमा पदम बराल, सचिवमा डा. प्रेम देवकोटा, प्रेसिडेन्ट इलेक्टमा केशव कुमार अग्रवाल, नोमिनेट प्रेसिडेन्टमा सागर श्रेष्ठ, उपाध्यक्षमा भेनस श्रेष्ठ, सह-सचिवमा अम्बिका न्यौपाने र कोषाध्यक्षमा रमा लिम्बू चयन भएको जानकारी दिइएको छ । यसैगरी सह-कोषाध्यक्षमा विकास अग्रवाल, क्लब डाइरेक्टर तर्फ (क्लब प्रशासक) मा शान्तिराम निरौला, सदस्यता अभिवृद्धिमा सञ्जु पराजुली, सेवा परियोजना तर्फ नविन कुमार श्रेष्ठ, जनसम्पर्कमा गौतम गुप्ता, टिआरएफ चियरमा भूपेन्द्र कोइराला, एसजीटी एटआर्मसमा सन्दीप (दिपु) चापागाई, टिच कोअर्डिनेटरमा डा. लेखनाथ न्यौपानेले जिम्मेवारी पाएको क्लबले जनाएको छ ।
क्लबको सल्लाहकारमा नविन कुमार श्रेष्ठ, डा. मुक्ति भट्टराई, गंगा प्रसाद काफ्ले, मोहन ढकाल, सन्दीप (दिपु) चापागाई र भरत चम्लागाई रहनुभएको छ ।