मेन विचार समाचार

दमकका व्यवसायी माझ लोकप्रिय गोपाल गुरागाई

गोपाल गुरागाई झापाको दमकका व्यापारी व्यवसायीहरुमाझ लोकप्रिय व्यक्ति हुन् । उनले दमक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा दोश्रो कार्यकालका लागि निर्वाचित भएर यो प्रमाणित गरिसकेका छन् । ताप्लेजुङको फुङ्लिङमा २०३२ जेठ २२ गते जन्मिएका गुरागाईले एक बौद्धिक, उच्च शैक्षिक, शालिन, मिलनसार, इमानदार र जुझारु व्यक्तिका रुपमा पहिचान बनाइसकेका छन् । आमा राधिका र बुवा कृष्णप्रसादको आशीर्वाद उनलाई अझै लागिरहेको छ । उनी हाल दमक–६ मा बसोबास गर्छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट उनले शिक्षा संकाय तर्फ अर्थशास्त्रमा स्नातकोत्तर (एम.एड.) गरेका छन् । २०६० साल देखि दमकमा रेडिमेड कपडा व्यवसायमा जमेका गुरागाईले सामाजिक सेवाको कार्यलाई जीवनको अभिन्न अंग बनाएका छन् । उनी दमकमा एक चिरपरिचित र बिहान बेलुका व्यपारी व्यवसायीहरुको हक, हित र अधिकारको कार्यमानै समय खर्चिरहेको अवस्थामा भेटिने गर्छन् । आगामी दिनमा पनि देश र जनताको हक, हित, अधिकार र कल्याणको कार्यमा आफूलाई समर्पित गर्ने उनको लक्ष्य छ ।


ताप्लेजुङदेखि काठमाडौं सम्म


सामान्य कमजोर आर्थिक अवस्थाको परिवार थियो उनका बुबा आमाको । पूर्वको विकट मानिने ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं.२ को सिम्ले भन्ने ठाउँमा गुरागाईको जन्म भएको हो । फलामको ढोका मानिने एस.एल.सी. परीक्षा पास गरेपछि मावलका एक जना दाईको भरमा परेर उनी २०४९ साल तिर राजधानी काठमाडौं पुगे । त्यहाँ प्रदर्शनी मार्गमा रहेको रत्नराज्य क्याम्पसमा रात्रीको समयमा आइ.ए. अध्ययन गरे । दिउँसो भने सडक पेटीमा गरिने रेडिमेड कपडाको व्यापारका लागि कपडा बोक्ने काम गर्थे उनी । त्यसबेला उनी मात्र १७ वर्षका थिए । त्यतिबेला उनी मावलका दाईलाई सघाउँथे मात्र । मावलका दाईले पनि पैसा जत्ति हुन्छ भन्दै गर्दा हौसिँदै काम गर्थे । पैसा पनि हुन्थ्यो । त्यो आम्दानी पनि क्याम्पसमा पढ्न, डेरा बस्न, खान र लाउन पुग्ने थियो । तैपनी भारी बोक्दा दुःख त हुन्थ्यो नै । दुःख र हण्डरहरु उनले धेरै खाए । तर काठमाडौं जस्तो महंगो ठाउँमा क्याम्पस पढन, खान, लाउन, घुमफिर गर्न र बस्न पाउनु पनि किमतीकै बात थियो । पछि उनले २०५३ देखि ताहाचलको महेन्द्ररत्न क्याम्पसमा बीं. एड. अध्ययन गरे । त्यो पनि पार लगाए । मुख्य कुरा गुरागाईलाई पढाई सक्नुथियो, उनले कीर्तिपुरबाट अर्थशास्त्रमा एम. एड. पास गरेर आफ्‌नो सपना पूरा गरे । गुरागाईको तेह्रमथुमकी दीपा ढुंगाना सँग २०५९ सालमा विवाह भयो । हाल उनीबाट १ छोरा अष्ट्रेलियामा अध्ययनरत रहेका छन् ।


भृकृटीमण्डमा रेडिमेड कपडाको व्यवसाय


गोपाल गुरागाईले क्याम्पस अध्ययन गर्दा गर्दै रेडिमेड कपडाको व्यवसायको बारेमा राम्रो जानकारी राखिसकेका थिए । कपडा कहाँबाट ल्याउने कतिमा खरीद गर्ने र कतिमा विक्री गर्ने, ग्राहकलाई कसरी आकर्षित गर्ने उनी बानीनै परिसकेका थिए । मावलका दाईको व्यापारमा संलग्न भएर । बेला बेला उनी खासा पनि पुग्थे । उनले सिन्धुपाल्चोकको तातोपानी हुँदै चीन तिब्बतको ल्हासा सम्मको व्यापार यात्राको अनुभव पनि लिइसकेका थिए । त्यसैले व्यापारमा जम्न खासै गाह्रो भएन् । त्यसैले उनले भृकृटीमण्डपमा २०५२ सालदेखि रेडिमेड कपडाको व्यापार शुरु गरे । जसबाट उनको नीजि व्यापारिक यात्रा र जीवन शुरु भएको हो । उच्च शिक्षा अध्ययन सँगै गुरागाईलाई कुनै सरकारी या निजी क्षेत्रमा नोकरी गर्नेभन्दा पनि व्यापारमानै रस बिझिसकेको थियो । भृकृटीमण्डमा उनको व्यापार राम्रै चल्दै थियो । २०५९ साल सम्म उनले त्यहीँ व्यापार गरे । पढे पनि । त्यसबीचमा उनले शुरुवाती दिनहरुमा भने दुःखका दिनहरु पनि पार गरेका थिए । भनिन्छ शुरुमा दुःख गरे, पछि सुख हुन्छ । गोपाल गुरागाईको हकमा पनि यस्तैनै भयो र भइरहेको छ पनि ।

दमकको व्यापार यात्रा र ताप्लेजुङबाट बसाइँ


उनी पढाई पूरा गरेपछि व्यापारको आधारभूत ज्ञान र सीप बोकेर काठमाडौंबाट झरे झापाको दमक तिर । त्यसअघि उनले केही वर्ष भृकृटीमण्डपमा कपडाको व्यापार गरिसकेका थिए । तर उनले व्यापार व्यवसायका लागि आफ्‌नै नजीकको थलो दमकलाई रोजे । र, थाले रेडिमेड कपडाको व्यापार २०६० सालदेखि । शुरुका दिनहरुमा उनको व्यापार पनि राम्रै चल्यो, जुन अन्तिम सम्म पनि कायमै रह्यो । तर उनको ध्यान कोठाबाट गरिने व्यापार भन्दा पनि व्यापारी व्यवसायीहरुको हितमा काम गर्ने तर्फ मोडियो । दमकमा २०५४ सालमानै उनका बुवा आमा पनि पहाड ताप्लेजुङबाट दमकको ढुकुरपानीमा बसाइँ आइसकेका थिए । त्यही भएर पनि काठमाडांै–दमकको आउ जाउ हुँदा हुँदै उनको व्यापारको थलो पनि दमकनै हुन पुग्यो । बुबा आमा अहिले पनि दमकमै स्थानीय बासिन्दा छन् । २२ वर्षको कोठे व्यापारबाट भने भर्खरै मात्र विश्राम लिएको उनी बताउँछन् । तर व्यापार व्यवसाय भने छोडेका छैनन् ।


सामाजिक सेवाको यात्रामा गोपाल


क्याम्पसको उच्च तहको अध्ययन पूरा गरेका गोपाल व्यापार व्यवसायमा मात्र सीमित हुने कुरै भएन । उनी दमकमा रेडिमेड कपडाको व्यापार सँगै लागे, दमक जेसीजको कार्यमा । अध्यक्ष बाहेक सबै पदमा पनि उनले जिम्मेवारी लिएर पूरा पनि गरे । नेतृत्व कला, सीप, क्षमता र व्यक्तित्व विकास उनको जेसीजबाटै भयो । उनी जेसीजलाई आफ्‌नो जीवनको अर्को विश्वविद्यालयका रुपमा लिन्छन् । १० वर्षसम्म दमक जेसीजमा महासचिव सम्म भएर काम गरे । दमकमा चलेको साधना वचत तथा ऋण सहकारी संस्थाको उनी संस्थापक अध्यक्ष समेत हुन् । त्यसमा रहेर सहकारीका गतिविधिमा पनि उनी सामेल हुँदा त्यसबाट पनि सामाजिक सेवामा जोडिने अवसर प्राप्त भएको उनको ठम्याई छ ।


त्यसपछि उनलाई लाग्यो, व्यापारी व्यवसायीहरुको आवाज र हितको सवाललाई लिएर सामाजिक सेवाको कार्यमा लाग्नुपर्छ भन्ने लाग्यो । र, पछि त्यससँगै उनी दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा निर्वाचित भए । रोटरी क्लब अफ दमकमा पनि उनले सदस्यता लिएर सक्रियता देखाइरहेका छन् । दमक उवासंघमा भने कार्यसमिति सदस्य देखि माथिका सबै पदहरुमा क्रमैसँग उनले जिम्मेवारी निर्वाह गर्ने अवसर पाए । हाल उनी दोश्रो कार्यकालका लागि अध्यक्ष पदको भूमिकामा छन् । पहिलो कार्यकालमा राम्रो काम गरेको जस पाएर पनि उनी यसपाली फेरी अध्यक्षको जिम्मेवारीमा लोकप्रिय हुँदै स्थापित भएका हुन् भन्न कुनै कन्जुस्याइँ गर्नुपर्दैन । उनी २०७९ मा पहिलोपट दमक उवासंघको अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको कार्यकालको विजय पनि गुरागाईको सामाजिक कार्यकै निरन्तरता पनि हो ।


देश र जनताको सेवा गर्ने धोको


गुरागाईको अबको धोको देश र जनताको सेवामा आफूलाई समर्पित गर्ने छ । त्यसमा पनि दमकबासीहरुको हितलाई सर्वोपरी ध्यानमा राख्ने उनको भनाई छ । स्थानीय सरकारनै त्यसका लागि आधारभूत जग हो । यसैमा रहेर सेवा गर्ने उनको ईच्छा छ । राज्यका नीति र नियमहरुमा अस्थिरता छ । देशकै अर्थतन्त्र धराशायी अवस्थामा छ । यो कुराबाट दमकका व्यापारी व्यवसायीहरु पनि अछुतो रहने कुरै भएन । व्यापारमा अहिले मन्दी छ । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउने हो भने पहिला राज्यको नीतिगत स्थिरता हुनुपर्छ भन्ने उनको भनाई छ । दोश्रो शान्ति सुरक्षाको व्यवस्था ठीक हुनुपर्‍यो । जेनजी आन्दोलनपछि त यो झन नाजुक छ ।


दमक उवासंघको कोष अढाई करोड पुर्‍याइयो


आफू अध्यक्ष भएपछिको पहिलो कार्यकालमा शुरुमा दमक उद्योग वाणिज्य संघको कोष मात्र डेढ करोड बराबरको थियो । यसलाई १ करोड थप स्रोत जुटाएर अढाई करोड पुर्‍याइएको छ । यो निकै ठूलो उपलब्धि हो । दमक उवासंघले व्यापार व्यवसाय दर्ता र नविकरण देखि लिएर कर, लेखा व्यवस्थापन, प्रविधिको प्रयोगमा व्यापारी व्यवसायीहरुलाई सहजीकरण गरिरहेको छ । एउटा मुख्य काम हो हाम्रो । त्यसका अलावा केन्द्र, प्रदेश र स्थानीय तहको सरकार सँग पनि सम्पर्क, समन्वय र सहकार्यको काम जारी छ ।
दमक उद्योग वाणिज्य संघको दमक–८ मा ७ कठ्ठा जग्गामा सीप विकास केन्द्र बनाउने परियोजना छ । त्यसको काम पनि लगभग चालू वर्षदेखि शुरु हुनेवाला छ । त्यहाँ अढाई करोडको परियोजना छ । पहिलो स्थानीय सरकार नहुँदा सरकारले यो परियोजना र परिकल्पना ल्याएको थियो । तर अहिले सबैजसो स्थानीय तहहरुलेनै सीप विकास र तालिमको काम गरिरहेका छन् । यो अवस्थामा पनि हाम्रो सीप विकासको कार्यक्रम ओझेलमा परेको भन्ने ठान्नुपर्छ । अर्कातर्फ व्यापारी व्यवसायीहरुलाई राज्य र सरकारले दिने छुट सुविधाहरु लिन पनि अभिप्रेरित गर्ने काम संघले गरिरहेको छ ।

शान्ति सुरक्षामा प्रतिवद्ध


व्यवसाय र व्यवसायीको लागि शान्ति सुरक्षाको वातावरण उत्तिकै महत्वपूर्ण हुन्छ । देश र समाजमा अमनचयन र शान्ति सुरक्षा भएन भने कुनै पनि पेशा व्यवसाय टिक्न अनि फस्टाउन सक्दैन । उद्योग व्यवसायको सवालमा पनि यही कुरा लागू हुन्छ । त्यसैले व्यापार व्यवसायको क्षेत्रमा पनि हर समय हर क्षण शान्ति सुरक्षाको वातावरण हुनुपर्छ भन्ने मान्यता बोकेर क्रियाशीय व्यक्ति हो, गोपाल गुरागाई । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा दमकमा इलाका प्रहरी कार्यालय मात्र जलाइएन, चियादोकनपश्चिम रहेको भाटभटेनी सुपरमार्केट पनि ध्वस्त पारियो । भाटभटेनी सुपरमार्केट अझै राम्ररी सञ्चालन आउन सकेको छैन । तर इलाका प्रहरी कार्यालयलाई पुनःनिर्माण गर्ने सवालमा दमक उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतमा अग्रसरता रह्यो, उनकै अगुवाइमा इलाका प्रहरी कार्यालयका लागि सहयोग जुटाएर अनैकौं प्रयास गरी पुनः सामान्य अवस्थामा फर्काइयो । उद्योग व्यवसायको सुरक्षाको लागि पं्रहरीको अहंम् भूमिका रहन्छ । नागरिकको सुरक्षाको सवालमा पनि रक्षकका रुपमा प्रहरी अत्यावश्यक हुन्छ । त्यसैले हामीले सकेको सहयोग र पहलकदमी गरेर इलाका प्रहरी कार्यालयलाई पहिलैकै अवस्थामा फर्कायौं, यसमा आफूलाई गर्व लागेको उनको भनाई छ । गुरागाई समग्र उद्योग व्यवसाय क्षेत्रको शान्ति सुरक्षाका लागि प्रतिवद्ध रहेका छन् ।


ऋण छैन, हंसमुख हुनुपर्छ


अहिले उनलाई व्यापार व्यवसाय या घरायशी कुनै पनि प्रकारको ऋण छैन । उनी आफू जीवनदेखि सन्तुष्ट रहेको बताउँछन् । बुबा आमा र श्रीमति साथै परिवारबाट पनि सन्तोष रहेको छ । कुनै खास र विशेष तनाव छैन । उनी बिहानदेखि बेलुका सम्म व्यापारी व्यवासायी भेट्ने व्यक्तिमा पर्छन् । त्यस्तै जेनजी आन्दोलनमा भएको घुसपैठबाट क्षति भएको इलाका प्रहरी कार्यालयको भवनलाई दानवीर र मनकारी व्यक्तिहरुको सहयोग जुटाएर पुनर्निमाण गर्न सफल भएका छन् । त्यसको नेतृत्व गर्नेमध्येमा उनी एक पर्छन् ।
काम थालेपछि पूरा गरेरै छाड्ने उनको स्वभाव छ । त्यसकारण पनि उनी मेहनती र परिश्रमी छन् । असल काम गर्छन् । सबैको हित र भलो चिताउँछन् । सकारात्मक कामका लागि पछि हट्नु हुन्न भन्ने उनको मान्यता छ । दमक उवासंघको सीप विकास केन्द्रको जग्गामा सुविधासम्पन्न भवन बनाउने योजना छ । त्यो पनि पूरा हुने उनी बताउँछन् । भवन बनेपछि त्यहाँ रहेका कोठा सीप सिक्ने प्रशिक्षार्थीलाई निःशुल्क उपलब्ध गराउने योजना छ । सीप सिकेपछि उनीहरु पनि अन्यत्र सेटल भएर व्यवसायमा लागून् भन्ने उनको चाहना छ ।


व्यापारी व्यवसायीलाई सन्देश


हरेक व्यापारी व्यवसायीले व्यवसाय दर्ता गर्नुपर्छ । यसबाट राज्य र सरकार सँग जोडिन्छ । पाउने छुट सुविधाहरु पनि लिन सजिलो हुन्छ । बरु दर्ता र नविरकणमा सहजीकरणका लागि दमक उवासंघ सँग सम्पर्क गर्नुहोस् । हामी तपाईहरुलाई सेवा दिनेनै छौं । राज्यका नीति नियमका बारेमा सबैले जानकारी बनौँ । दमक उवासंघले सचेतनामूलक कार्यक्रम र अन्तरक्रियाहरु पनि बेला बेलामा गर्ने गरेको छ । त्यसमा पनि सबैले सहभागी बनोँ, यही मेरो सम्बन्धित सबैलाई आग्रह र सन्देश छ भन्ने उनको भनाई छ । प्रस्तुति : पंकज दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *