दमक, साउन २ – दमक नगरपालिका–२ अन्तर्गत डाकिनी–ढुकुरपानी सडकखण्डमा शनिबार वृहद सरसफाई अभियान सम्पन्न गरिएको छ। लामो समयदेखि फोहोर थुप्रिँदै आएको सो क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अगुवाइमा बिहान ८ बजेदेखि सरसफाई सुरु गरिएको हो।
अभियानमा करिब २०–२५ जना युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सरसफाईका क्रममा दुई ट्रयाक्टर फोहोर संकलन गरी व्यवस्थापन गरिएको जनाइएको छ। अभियानमा फोहोर व्यवस्थापनमा क्रियाशील संस्था Next Era Energy का सञ्चालक विमल खतिवडाको समेत सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा दमक नगरपालिका वडा नं. १ का अध्यक्ष हरि न्यौपाने, वडा नं. २ का अध्यक्ष प्रजापति सापकोटा, र वडा नं. ३ का अध्यक्ष नवीन बराल लगायत जनप्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीयवासीहरूले लामो समयदेखि बेवास्ता गरिएको सडकखण्डमा भएको यो सरसफाई अभियानलाई स्वागतयोग्य र प्रेरणादायक कदमका रूपमा लिएका छन्। उनीहरूले सरसफाई अभियानले स्वच्छ वातावरण निर्माण मात्र नभई समाजप्रतिको जिम्मेवारीबोध पनि उजागर गरेको बताएका छन्।
कार्यक्रमको नेतृत्व गरेका राष्ट्रिय युवा संघ दमक नगर कमिटीका अध्यक्ष छबिलाल खतिवडाले युवाहरूको सहभागितामा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओली, प्रदेश कमिटी सदस्य अम्बिका खनाल, नगर अध्यक्ष राम पौडेल, राष्ट्रिय युवा संघ जिल्ला सचिव उमेश मिश्र, क्षेत्र नं. ५ संयोजक विवेक भट्टराई, र दमक नगर कमिटी इन्चार्ज सुदीप वानेम (फागो) लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रिय युवा संघको अगुवाइमा भएको यो पहलले युवाहरूमा सामाजिक उत्तरदायित्वबोधलाई बलियो बनाएको भन्दै सरोकारवालाहरूले प्रसंसा गरेका छन्।
