मेन समाचार

प्याबसन दमकको आयोजनामा गणित प्रयोगशाला सम्पन्न

दमक/ निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याबसन), दमकको आयोजनामा एक दिने गणित प्रयोगशाला सम्पन्न गरिएको छ । कार्यक्रम दमक–६ स्थित सूर्योदय विद्यालयमा आयोजना गरिएको हो ।

गणित सिकाइलाई प्रयोगात्मक, रोचक र प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यशालामा दमक क्षेत्रका विभिन्न निजी विद्यालयका गणित शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशाला दुई चरणमा—प्राथमिक र माध्यमिक तहका शिक्षकहरूलाई लक्षित गरी—सञ्चालन गरिएको थियो ।

गणित प्रयोगशालामा प्रशिक्षक दयामान श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । उहाँले गणित विषयलाई व्यवहारमा आधारित सिकाइमार्फत सजिलो, मनोञ्जनात्मक र दीगो बनाउन सकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्याबसन कोशी प्रदेशका सल्लाहकार एल.डि. राई उपस्थित हुनुहुन्थ्यो । अन्य विशिष्ट अतिथिहरूमध्ये प्याबसन केन्द्रीय सदस्य श्रवण पोखरेल, कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेल, दमक प्याबसनका प्रमुख सल्लाहकार जर्नादन मैनाली, सहुलियत पुस्तक भण्डारका सञ्चालक रवि बस्नेत तथा प्याबसन दमकका अध्यक्ष नविन योगी रहनुभएको थियो ।

आफ्नो मन्तव्यमा अध्यक्ष नविन योगीले समयानुकूल शिक्षण पद्धति अपनाउँदै सिकाइमा सुधार ल्याउन यस्ता प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “समयसँगै परिवर्तन नअपनाएसम्म अगाडि बढ्न सकिँदैन, त्यसैले यस्तो प्रयोगात्मक प्रयोगशाला आवश्यक छ” उहाँले भन्नुभयो ।

कार्यक्रममा सहयोगी संस्थाको रूपमा सहुलियत पुस्तक भण्डार, दमक–५ को महत्वपूर्ण साथ रहेको थियो । प्रयोगशालामा गणित शिक्षणसँग सम्बन्धित विभिन्न उपकरण, फर्मुला कार्ड, चार्ट तथा अन्य शैक्षिक सामग्रीहरू प्रस्तुत गरिएका थिए ।

प्याबसन दमकले यस्ता व्यवहारमुखी कार्यक्रमहरू भविष्यमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *