मेन समाचार

सानो प्रयास युवा समाजद्वारा शब वाहन सञ्चालन

दमक/ दमकमा सामाजिक सेवामा सक्रिय सानो प्रयास युवा समाजले शव वहान सेवा सञ्चालनमा ल्याएको छ । करिब १२ लाख रुपैयाँको लगानीमा खरिद गरिएको उक्त सवारी साधन दमक, कमल, उर्लाबारी लगायत आसपासका क्षेत्रमा सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको हो ।

अन्य शव वहानको तुलनामा सहुलियत शुल्कमा सेवा प्रदान गरिने र आर्थिक रूपमा कमजोर परिवारहरूलाई विशेष छुट दिइने समाजले जनाएको छ । संस्थाका अध्यक्ष छबि खतिवडाका अनुसार, गरिब तथा ठूला परिवारलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको उक्त सवारीमा ३० जना यात्रु अटाउन सक्ने सुविधा छ, जुन अन्य शव वहानको तुलनामा धेरै हो। यसले गर्दा अन्तिम संस्कारमा सहभागी परिवारका सदस्यहरूले अर्को सवारी साधनको आवश्यकता बिना एउटै सवारीमा यात्रा गर्न सक्ने छन् ।

खतिवडाले भने, “शव वहानजस्तो संवेदनशील सेवामा पनि हामीले सामाजिक उत्तरदायित्व महसुस गर्दै राहत प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालन गरेका हौं ।”

सानो प्रयास युवा समाजले यसअघि पनि दमकमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेको छ ।

कोरोना महामारीको समयमा स्थापना भएको यो संस्था विभिन्न सामाजिक कार्यहरू—खाद्यान्न वितरण, झुल सहयोग, सरसफाई अभियान, शैक्षिक सामग्री वितरण, र निःशुल्क डेन्टल क्याम्पजस्ता कामहरू गर्दै आइरहेको छ ।

संस्थाले ‘टोल नगर हुँदै राष्ट्रसम्मको रुपान्तरणको निम्ति’ भन्ने मूलमन्त्रका साथ सामाजिक सेवामा आफ्नो सक्रियता बढाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *