पंकज दाहाल
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भन्ने वित्तिकै दिउँसोको समय विताउने ज्येष्ठ नागरिकहरुको थलोको रुपमा चिन्नुपर्छ । मन्दिर, धर्मशाला, आश्रम, गुरुकुल, वेद विद्याश्रम, ज्येष्ठ नागरिक संघ संस्था तथा अन्य सामाजिक संघ संस्थाहरुले देशका विभिन्न भागमा यस्ता दिवा सेवा केन्द्रहरु खोल्ने क्रम बढ्दै गएको पाइन्छ । झापा जिल्लामा र देशभरिमा यस्ता दिवा सेवा केन्द्रहरु कति छन् भन्ने यकिन तथ्यांक त छैन, तर संघीय, प्रदेश र स्थानीय सरकारमा मागअनुसार या स्वेच्छाले अनुरोध गरेर अनुदान सहयोग लिने दिवा सेवा केन्द्रहरुको संख्या भने उल्लेख्य छ । तैपनि संचालनमा रहेका तर सरकारको नजरमा नपरेका दिवा सेवा केन्द्रहरु पनि कतिपय ठाउँहरुमा रहेको सुन्न र देख्न पाइन्छ । युवाहरु विभिन्न पेशा, व्यवसाय, नोकरी तथा वैदेशिक रोजगारीका लागि अन्यत्र रहँदा र नाति नातिनाहरु विद्यालय या क्याम्पस जाँदा घरमा एक्लिएका ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र आफूजस्तौ दाँैतरीहरुसँग दुःख सुखका कुरा साटासाट गर्ने र मन बहलाउने साझा थलो बनेको छ ।
झापाको दमक नगरपालिका-५ का ७० वर्षीय तुलाराम बाँस्तोला वडा नं. ८ मा रहेको ज्येष्ठ नागरिक नगर समिति दमकको दिवा सेवा केन्द्रमा हरेक दिनजसो मध्यान्ह १२ बजेदेखि २ बजेसम्म समय विताउँनुहुन्छ । उहाँ सो समितिको कोषाध्यक्षको भूमिकामा पनि हुनुहुन्छ । समितिको आर्थिक हिसाब किताव राख्ने त उहाँको जिम्मेवारी छँदैछ, त्यसभन्दा पनि उहाँ आफ्नो बुढ्यौली जीवन सहज र सरल ढंगले बितोस् भनेर दिवा सेवा केन्द्रमा धाउने गरेको अनुभव सुनाउन पछि पर्नु हुन्न । ‘शहरको ठाउँ दिनभरि घरमा बस्दा एक्लो र निरश महशूस हुन्छ, बरु दिवा सेवा केन्द्रमा त आफ्नो उमेर सँग मिल्ने ज्येष्ठ नागरिकहरु भेटिन्छ । दुः ख सुख र मनका कुरा गर्न पाइन्छ । हाँस्न र नाच्न पाइन्छ । ’ बाँस्तोला भन्नुहुन्छ- यसैमा नै हामी ज्येष्ठ नागरिकको खुशी लुकेको हुन्छ । घरमा बस्दा दिक्दार लाग्छ, छोरानातिहरु पनि आफ्नो पेशा व्यवसाय या काममा गइहाल्छन् । त्यस्तो बेलामा दिवा सेवा केन्द्र हाम्रा लागि मन बहलाउने ठाउँ भएको छ । ’
बाँस्तोला मात्र होइन, झापाको दमक नगरपालिका-५ मा रहेको ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले आफ्नै कार्यालय परिसरमा रहेको ४ कठ्ठा जग्गामो रहेको दिवा सेवा केन्द्रमा धाउने ज्येष्ठ नागरिकहरुको पनि कमी छैन । प्रतिष्ठानको दिवा सेवा केन्द्र दमकबासीहरुका लागि जानेबुझेकै ठाउँ पनि हो । यहाँ १० वर्षदेखि नियमितजसो धाउँदै आउनुभएको छ, स्थानीय ८४ वर्षीय लक्ष्मी प्रसाद भट्टराई । भट्टराईको दिउँसोको दैनिकी यही दिवा सेवा केन्द्रमानै बित्ने गरेको छ । अर्की ज्येष्ठ नागरिक ७६ वर्षीया धनमाया गिरी पनि १० वर्षदेखिनै दिवा सेवा केन्द्रको सक्रिय सदस्य हुनुहुन्छ । घरमा नियास्रो लाग्ने गरेकाले दिवा सेवा केन्द्रमा आउँदा आनन्द लाग्ने गरेको उहाँहरुको भनाई छ । केन्द्रमा कहिले भजन कीर्तन, कहिले अनौपचारिक भलाकुसारी, कहिले औपचारिक कार्यक्रमहरु हुने गरेका छन् । कहिले विभिन्न खालका स्वास्थ्य शिविरहरु हुन्छन् त कहिले तीर्थाटन, अवलोकन भ्रमण, देश दर्शन जस्ता घुम्ने घुमाउने कार्यहरु हुने गरेका छन् । दिवा सेवा केन्द्रमा आउने ज्येष्ठ नागरिकहरुलाई कहिले चिया बिस्कुट, कहिले पालो गरेर विभिन्न किसिमका परिकारहरु त कहिले फलफूलहरु खाजाको रुपमा खुवाउने चलन छ ।
प्रतिष्ठानको दिवा सेवा केन्द्रमा छेवैमा मन्दिर छ भने विभिन्न देवी देवताको पुजा अर्चना र आरती गरेर भजन कीर्तन गर्ने गरिन्छ । ‘त्यसैले हामी ज्येष्ठ नागरिकहरुका लागि यि सबै कुराले गर्दा दिन कटाउने रामै्र मेलो भएको छ । यो बुढेसकालमा बलको काम गर्न पनि खासै सकिँदैन । मानसिक श्रम गराँै भने भनेजस्तो अवस्था र व्यवस्था छैन । यस्तो परिस्थितिमा दिवा सेवा केन्द्रमा रमाउनु र घरमा बिहान बेलुका छोरा छोरी तथा नातिनातिनाहरु सँग घुलमिल भएर बस्नुनै उत्तम विकल्प भएको छ । ’ दमक-५ का अर्का ८८ वर्षीय तेज प्रसाद खनाल मनको बह पोख्नुहुन्छ । प्रतिष्ठानको दिवा सेवामा पुगेर उहाँहरुले जनै बनाउने गरेको पनि पाइएको छ । आफूहरुले बनाएको जनै कहिले प्रतिष्ठानलाई त कहिले इष्टमित्र र साथीभाईलाई बाँड्ने गरेको उहाँहरुको भनाई छ ।
दमकमा मात्र होइन, यस्ता दिवा सेवा केन्द्रहरु झापा, मोरङ, सुनसरी, धनकुटा लगायतका अन्य जिल्लाहरुमा पनि रहेको पाइन्छ । झापाकै कनकाई नगरपालिकाका ९ वटै वडा र बुद्धशान्ति गाउँपालिकाका ७ वटै वडामा ज्येष्ठ नागरिक चौतारीहरु रहेका छन् । ति चौतारीहरुमा पनि हप्ताको एक दिन दिवा सेवाको कार्यक्रम चल्ने गरेको छ । कनकाई र बुद्धशान्ति दुवै ठाउँमा रहेका ति ज्येष्ठ चौतारीहरु स्थानीय पालिका यानेकी स्थानीय सरकार, विर्तामोडको चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था तथा स्थानीय मनकारी व्यक्तिहरुको आर्थिक सहयोगबाट बनेका हुन् । ज्येष्ठ नागरिक कनकाई नगर संघका अध्यक्ष शम्भुप्रसाद पोखरेल ति ज्येष्ठ नागरिक चौतारीहरुका लागि स्थानीयवासीले जग्गादान गरेको र प्राप्त जग्गामा बनेको बताउनुहुन्छ । प्रायः सबै ठाउँमा १ कठ्ठा जग्गा रहेको पोखरेलको भनाई छ । हाल संचालनमा रहेका ज्येष्ठ चौतारीहरु विभिन्न औपचारिक तथा अनौपचारिक भेला, बैठक, सभा, सम्मेलन लगायतका कार्य गर्नका लागि समेत उपयोगमा आएको पाइएको छ । नगरपालिकाका सुगम र ग्रामीण भेगमा समेत स्थानीयवासीका लागि ज्येष्ठ चौतारीहरु आकर्षणको केन्द्र बनेका छन् ।
‘ ज्येष्ठ चौतारीहरु सामुदायिक भवनका रुपमा पनि रहेका छन् । यी चौतारीहरु ज्येष्ठ नागरिकका लागि दिउँसोको समय बिताउने विश्राम चौतारी पनि हुन्, जहाँ उनीहरुले आफ्नो जीवनका दुःख सुखका अनुभवहरु एकअर्कामा साटासाट गर्दछन् । ’ ज्येष्ठ नागरिक गाउँ समिति बुद्धशान्तिका अध्यक्ष कृष्ण फूयल यस्ता चौतारीहरु देशका सबै पालिकाहरुमा आवश्यक रहेको बताउनुहुन्छ । तर ज्येष्ठ चौतारी बनाएर मात्र नभई त्यसलाई संचालन गर्ने कुरामा पनि स्थानीय सरकारले ध्यान दिनुपर्नेमा उहाँको जोड छ । अझ ज्येष्ठ चौतारीहरुलाई मनोविमर्श, धर्मकर्म र मनोरञ्जन गर्ने थलोका रुपमा मात्र नभई सीप सिकेर उद्यम गर्ने थलोका रुपमा समेत विकास गर्न सके त्यसबाट आयआर्जन हुने र ज्येष्ठ नागरिकहरुलाई समेत आर्थिक रुपमा बलियो बनाउने बताउनुहुन्छ । तर यसका लागि सरकारले केन्द्रदेखि स्थानीय स्तरसम्मनै विभिन्न किसिमका योजना तय गर्ने र सोही अनुसारको कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने उहाँको माग रहेको छ । यद्यपी सरकार भने
यस मामिलामा अहिलेसम्म उदासीननै रहेको र यसतर्फ ध्यान दिन नसकेको ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अध्यक्ष दुर्गा प्रसाद पौडेलको गुनासो छ । ज्येष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पोखरेल पनि फूयल र पौडेलको कुरामा सहमति जनाउनु हुन्छ । ज्येष्ठ नागरिक नगर संघ दमकको अध्यक्ष रघुनाथ खरेल भने सरकारले दिवा सेवा केन्द्रमा चिया बिस्कुट खुवाउने पैसा मात्र दिएर पन्छिन नमिल्ने बताउनुहुन्छ । खरेलका अनुसार दिवा सेवा केन्द्रहरु धेरैजसो अग्रज ज्येष्ठ नागरिकहरुको पहलमा स्थापना भएका तर तिनलाई दिगो रुपमा संचालन गर्ने र प्रभावकारी बनाउने कार्यमा कुनै ठोस योजना बन्न नसकेको अवस्थामा रहेको प्रकाश पार्नुहुन्छ । ज्येष्ठ नागरिकहरुका लागि वृद्धाश्रमको पनि आवश्यकता होला, तर त्यो सबै ज्येष्ठ नागरिकहरुको आवश्यकताको विषय होइन, घरपरिवारमा छोराछोरी र नातिनातिनाहरु सँग रमाएर बाँकी जीवन बिताउनु राम्रो हुन्छ भन्ने धेरै जसो ज्येष्ठ नागरिक अभियन्ताहरुको तर्क छ । यस्तो अवस्थामा दिउँसोको केही समय दिवा सेवा केन्द्रमा बिताउने कुरामा भने सरकारले पनि प्राथमिकता दिनुपर्ने उहाँहरुको भनाई छ । त्यसो गर्दा घरभित्र र बाहिर दुवै ठाउँमा ज्येष्ठ नागरिकहरुको दिनचर्या बित्ने र त्यो सहज हुने देखिन्छ । दिवा सेवा केन्द्रका लागि सरकारले ऐन कानूनमै व्यवस्था गरेको छ । कानूनमा तोकिएको मापदण्डअनुसारका संरचनाहरु नभएपनि केही हदसम्म अहिले कायम रहेका अधिकांश दिवा सेवा केन्द्रहरुले ज्येष्ठ नागरिकहरुलाई सेवा दिइरहेको पाइन्छ । यस्तो बेलामा भएका दिवा सेवा केन्द्रहरुलाई कसरी व्यवस्थित गर्ने र नभएका ठाउँमा कसरी स्थापना गर्ने भन्ने बारेमा राज्यको ध्यान जानु जरुरी छ ।
