मेन समाचार

सानो प्रयास युवा समाजद्वारा मानव उद्धार सेवा आश्रमलाई खाद्यान्न सहयोग

दमक, फाल्गुन २४ | दमकस्थित सानो प्रयास युवा समाजले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दमक–२ मा रहेको मानव उद्धार सेवा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ। समाजसेवाको क्षेत्रमा निरन्तर सक्रिय रहेको संस्थाले आश्रयविहीन तथा सहयोगापेक्षी व्यक्तिहरूलाई आश्रय दिइरहेको उक्त आश्रममा ५० हजार रुपैयाँ बराबरको खाद्य सामग्री तथा अन्य आवश्यक सामग्री प्रदान गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य तथा संस्थाका सल्लाहकार समिति संयोजक दिपक कार्की रहेका थिए भने विशिष्ट अतिथिका रूपमा दमक–२ का वडा अध्यक्ष प्रजापति सापकोटा, दमक–२ का वडा सदस्य ललित बहादुर बि।क, दमक–५ का वडा सदस्य शोभा खतिवडा बेलबासे लगायतको उपस्थिति रहेको थियो।

सहयोगका क्रममा २५ केजीका दरले १९ बोरा चामल, भुजा, दुई बेरा सोयाबिन, १५ केजी दाल, दन्तमञ्जन, खाने तेल, ब्रस, २० ओटा थाल, ३० ओटा गिलास तथा ३५ थान मच्छरदानी आश्रमलाई प्रदान गरिएको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिनुभयो । स्थानीय समुदायका लागि निरन्तर सामाजिक कार्य गर्दै आएको सानो प्रयास युवा समाजले यसअघि पनि विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री वितरण, कोभिड महामारीको समयमा खाद्यान्न वितरण तथा हालै मात्र एम्बुलेन्स खरिद गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य गरिसकेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिपक कार्कीले समाजसेवा केवल राज्यको जिम्मेवारीमा मात्र सीमित नरहने उल्लेख गर्दै हरेक नागरिकले आफ्नो ठाउँबाट सक्दो योगदान दिनुपर्ने आवश्यकता औंल्याए। उनले मानव सेवाका कार्यहरूमा सबैले हातेमालो गर्नुपर्ने बताउँदै सानो प्रयास युवा समाजको पहललाई प्रेरणादायी कार्यको रूपमा व्याख्या गर्नुभयो ।

सोही अवसरमा संस्थाका अध्यक्षले यस्ता कार्यहरूलाई राजनीतिको चश्माबाट हेर्न नहुने बताउँदै संस्थाले निष्पक्ष रूपमा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। संस्थाको यो अभियानमा डाक्टर मनोज शाह, ब्रोडवे क्याफे, विकास शाह, सुरज श्रेष्ठ लगायतका शुभचिन्तकहरूको उल्लेखनीय सहयोग प्राप्त भएको थियो।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको मानव उद्धार सेवा आश्रमले दमक–२ मा आश्रयविहीन, असहाय तथा सहयोगापेक्षी व्यक्तिहरूलाई संरक्षण तथा पुनःस्थापनाको कार्य गर्दै आएको छ। यो संस्थामा विभिन्न कारणले सडकमा बाँच्न बाध्य भएका व्यक्तिहरूलाई सुरक्षित बसोबासको व्यवस्था मिलाइन्छ।

सानो प्रयास युवा समाजका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइनेछ। संस्थाले विशेष गरी विपन्न वर्ग, शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा क्रियाशील रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *