पालिका गतिविधि मेन

दमकमा पनि अपाङ्गता रोकथाम र पुनःस्थापनाको सम्झौता

दमक/ दमक नगरपालिका र करुणा फाउन्डेसन नेपाल बिच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यन्वयनका लागि तीनवर्षे अवधिको सम्झौता भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, दमक नगरपालिका तथा अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रविधिक सहयोग रहनेगरी यस्तो सम्झौता भएको हो । सम्झौता पत्रमा नगर प्रमुख राम कुमार थापा र फाउण्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा लगायतले हस्ताक्षर गरेका छन् । त्यस अवसरमा नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, फाउन्डेसनका निर्देशक योगेन्द्र गिरी र व्यवस्थापक सन्तोष घिमिरेको पनि हस्ताक्षरसहित विशेष उपस्थिति रहेको थियो ।

आगामी साउन १ देखि कार्यान्वयनमा आउने सम्झौतामा हस्ताक्षर पछि फाउण्डेसनका कार्यकारी निर्देशक सापकोटाले कुनै पनि व्यक्ति जन्मदै अपाङ्गता भएर नजन्मिउन् र जन्मिएपछि हुनसक्ने अपाङ्गता नहोस् भनेर आफूहरुले रोकथाम र पुनःस्थापनाको काम गरिरहेको भएतापनि समाजमा अपाङ्गता भएका व्यक्तिले विभिन्न कारणले अपहेलित हुनुपरिरहेको प्रष्ट पार्नुभयो । उहाँले यसरी भइरहेको अपहेलनाको अवस्थालाई न्यूनीकरण गर्दै अपाङ्गता भएका व्यक्तिलाई आम नागरिक सरह जीवन जिउने वातावरण निर्माण गर्ने/गराउने उद्देश्य राखेर झापाका १५ वटै स्थानीय तहमा कार्यक्रम संचालन गरिन लागेको बताउनुभयो । हाल सम्म कनकाई नगरपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकामा, अर्जुनधारा नगरपालिका, गौरीगञ्ज गाउँपालिका, मेचीनगर नगरपालिका तथा भद्रपुर नगरपालिकामा सम्झौता भइसकेको र बाँकी रहेका स्थानीय तहमा यो कार्यक्रम क्रमशः सम्झौता हुने जानकारी गराइएको छ ।

कार्यक्रमले जन्मजात हुने अपाङ्गता रोकथाम तथा जन्म पश्चात् विकसित हुने अपाङ्गता न्यूनीकरण गर्नुकासाथै अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिकरण र सशक्तिकरणमा विशेष जोड दिनेछ । यो कार्यक्रमले अपाङ्गता भएका व्यक्ति मात्र नभएर अपाङ्गता भएका व्यक्तिको परिवारलाई पनि समेट्ने कुरा फाउन्डेसनका व्यवस्थापक सन्तोष घिमिरे खुलाउनुभयो । यस्तो कार्यक्रम कोशी प्रदेशका १३७ वटै पालिकामा लागु हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *