दमक/ झापाको दमक नगरपालिकालाई आगामी दुई वर्षभित्रमा बालमैत्री नगर बनाउने गरी आवश्यक तयारी भइरहेको छ । वडा नं. ५ भने यसअघि नै बालमैत्री घोषणा भइसकेको छ । जिल्ला समन्वय समिति झापाले न्यूनतम आधारभूत मापदण्ड पूरा गरेको भन्दै सो वडालाई बालमैत्री घोषणा गर्न सहमति दिएअनुसार दमक–५ बालमैत्री भएको हो । अब बाँँकी नौ वटा वडालाई पनि बालमैत्री घोषणा गर्नका लागि कार्य भइरहेको दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले बताउनुभएको छ ।
दमक नगरपालिकाको वडा नं. ५ नगरमै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा बनेको हो । जिल्ला विकास समन्वय समिति झापाले बालमैत्री वडा हुनका लागि आवश्यक न्यूनतम मापदण्ड परीक्षण गर्दा ८६ दशमलव २७ प्रतिशत अंक प्राप्त गरेको भन्दै दमक–५ लाई बालमैत्री वडाका लागि सहमति दिएको थियो । नगरपालिका र वडाको विगत २ वर्षदेखिको अनवरत प्रयास र पहलकदमी पछि उद्देश्यमा सफलभए पश्चात् सो वडालाई स्थानीय रोयल पाटी प्यालेसमा एक भव्य समारोहको आयोजना गरी औपचारिक रुपमा बालमैत्री भएको घोषणा गरिएको हो । त्यस अवसरमा दमक नगर प्रमुख राम कुमार थापा र वडाध्यक्ष इन्द्रबहादुर गुरुङले बालमैत्री घोषणा भएअनुसार वडाका सबै क्रियाकलापहरु र वडावासीहरुलाई सबै बालबालिकाहरुप्रति बालमैत्री व्यवहार गरिने प्रतिवद्धता जनाउनुभएको छ ।
राज्य र सरकारबाट बालमैत्री हुनका लागि गर्नुपर्ने शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण, न्याय, मनोरञ्जन लगायतका कुराहरुमा वडाका सबै बालबालिकाहरुलाई सोही अनुसारको व्यवहार हुने वातावरण तयार गरिने र त्यसलाई निरन्तरता दिइने नगरपालिका नेतृत्वले बताएको छ । ‘वडालाई बालश्रममुक्त र बालहिंसा मुक्त बनाइएको छ । कक्षा ५ सम्मको शिक्षा पूर्णत ः निःशुल्क गरिएको छ । सबैले स्वास्थ्योपचार सहज र सरल ढंगबाट पाउने छन् ।’ नगर प्रमुख थापाले भन्नुभयो – यस्तो व्यवस्था नगरका बाँकी ९ वटै वडामा पनि आगामी २ वर्षभित्रमा गरिसक्ने योजना छ, त्यसपछि दमक नगरपालिकालाई नै बालमैत्री नगरपालिकाका रुपमा घोषणा गर्ने कार्यमा हामी तदारुकताका साथ लागीपरेका छौं, सिंगो नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु त्यसको तयारीका लागि खटिइरहेका छौं ।’ वडाका सबै सामुदायिक र संस्थागत विद्यालय, बाल विकास केन्द्र, बाल सञ्जाल र क्लबहरु, सामाजिक संघ संस्थाहरु, सुरक्षा निकाय, घरपरिवारमा अभिभावकहरु, शिक्षकहरु, अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु सबैले बालमैत्री व्यवहार गर्नु अत्यावश्यक भएको छ ।
बालबालिकाहरुलाई कसरी बालमैत्री व्यवहार गर्ने भनेर नगरपालिका र वडा कार्यालयले अभिभावक, शिक्षक र सरोकारवालाहरुलाई अभिमुखीकरण, तालिम र सचेतनाका कार्यक्रमहरु पनि गएका वर्षहरुमा संचालन गरिसकेको बताइएको छ । आगामी दिनमा पनि त्यसका लागि विद्यालय, समुदाय र टोल विकास संस्थाहरुमा गएर बालमैत्री हुनका लागि के कस्ता व्यवहारहरु गर्नुपर्छ र कस्ता भौतिक, आर्थिक र मनोवैज्ञानिक व्यवस्था र नियमहरु परिपालना गर्नु गराउनुपर्छ भनेर अन्तरक्रिया, अभिमुखीकरण, छलफल र सचेतनाका कार्यक्रमहरु जारी राखिने सो वडाले जनाएको छ । कार्यक्रमको अध्यक्षता गरेका वडाध्यक्ष इन्द्र बहादुर गुरुङले वडालाई बालमैत्री घोषणा गर्न पाउँदा जति खुशियाली र हर्ष छाएको छ, त्यो भन्दा बढी त्यसको व्यवहारिक कार्यान्वयन गर्न पाउँदा हुने बताउनुभयो । उहाँले आगामी दिनमा बालमैत्री वडाले गर्नुपर्ने कर्तव्य र दायित्वका बारेमा आफूहरु सचेत भएको र त्यसअनुसारको वातावरण तयार गर्ने कुरामा सम्बन्धित सबै अभिभावक, शिक्षक र सरोकारवालाहरुलाई ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले दुई वर्ष अघि दिएको निवेदनपछि आवश्यक अध्ययन र सर्वेक्षण गर्दा दमक–५ ले ५१ वटा सूचकहरुमध्ये ४६ वटा पूरा गरेकाले नियमानुसार बालमैत्री घोषणा गर्न सहमति दिइएको प्रष्ट पार्नुभयो । जिसस प्रमुख बरालले एउटा मात्र होइन, दमकका सबै वडाहरुलाई बालमैत्री घोषणा गर्ने कुरामा नगरपालिका लाग्नुपर्ने सुझाव पनि दिनुभयो । सो वडाको कुल जनसंख्या १९ हजार ९५२ रहेकोमा १४ सय ३१ बालक र १२ सय ५५ बालिका रहेको कुरा दमक–५ का वडा सचिव निधिनारायण ढुंगेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । वडामा बाल सञ्जालमा ८ वटा बाल क्लबहरु आवद्ध रहेका छन् । कार्यक्रममा वडामा पूरा गर्न बाँकी रहेका ५ वटा सूचकहरु पूरा गर्नेतर्फ पनि काम भइरहेको वडा सचिव ढुंगेलले बताउनुभयो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले बालमैत्री वडा घोषणालाई व्यवहारमा रुपान्तरण गर्ने कुरामा सबै उद्योगी व्यवसायीहरुले साथ सहयोग गर्ने कुराको जानकारी गराउनुभयो । कार्यक्रममा कोशी प्रदेशका पूर्व सभासद अर्जुन राईको विशेष आतिथ्यता रहेको थियो ।
वडा सदस्य शोभा खतिवडा बेलवासेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारी र नगर बाल सञ्जाल अध्यक्ष आकृति बस्नेतले आलोपालो गरी गर्नुभएको थियो । शुभकामना मन्तव्य राख्दै सो वडाका पूर्ववडाध्यक्ष शेरबहादुर भट्टराईले बालमैत्री घोषणा भएकोमा सम्बन्धित सबैलाई बधाई तथा धन्यवाद दिनुभयो । त्यसअवसरमा नगर कार्यपालिका सदस्य शारदा सापकोटा भट्टराई, वडा बाल सञ्जाल अध्यक्ष प्रिपेस श्रेष्ठ र नगर बाल सञ्जालका पूर्व अध्यक्ष मनिकुमार बुढाथोकीले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्थानीय विद्यालयका बालबालिका तथा शिक्षक÷शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा बालमैत्री वडा बनाउन भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने बालबालिकाहरुले गीत, नृत्य प्रस्तुत गर्नुका साथै किरात राई यायोक्खाले साकेला नृत्य प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।