कमल/ झापाको कमलमा ६ महिने कम्युटर तालिम सम्पन्न भएको छ । वडा नं. ५ र ६ को सहयोगमा स्थानीय ब्राइट फ्यूचर टेक्निकल एजुकेशन फाउण्डेशनले सो तालिम सम्पन्न गरेको हो । वडा नं. ५ का ६३ जना र वडा नं. ६ का ३२ जना गरी ९५ जना विद्यार्थी बालबालिकाहरु सो तालिमबाट लाभान्वित बनेका छन् ।
तालिम समापन कार्यक्रममा वर्तमान सयम सूचना प्रविधिको युग भएको बताउँदै कम्प्युटर तालिममा सिकेको सीपको सही सदुपयोग गर्नुपर्ने कुरामा कार्यक्रमकी प्रमुख अतिथि कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले जोड दिनुभयो । कार्यक्रममा विशेष अतिथिका रुपमा वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र प्रसाद भट्टराई वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष ओम कुमार प्रधान रहनुभएको थियो । अन्य अतिथिहरुमा दमकको आस्था कलेजका संचालक टेकनाथ भण्डारी, वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारी, कमल-५ का वडा सदस्यहरु क्रमशः चुरुङहाङ्ग लावती, चन्द्रकला सुब्बा र भूमिका महरा, वडा सचिव अमृत कुमार साह, ज्येष्ठ आवाजका प्रधान सम्पादक पंकज दाहाल रहनुभएको थियो । ब्राइट फ्यूचर टेक्निकल एजुकेशन फाउण्डेशनका संचालक दिलीप खनालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको संचालन संचारकर्मी देशराज नेम्वाङले गर्नुभएको थियो । कार्यक्रममा तालिम पूरा गरेका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
