समाचार

दमकका हेडसर भनेर चिनिएका छविलाल शर्मा सिटौलाको अभिनन्दन, ग्रन्थ समेत लोकार्पण

दमक/ बडादशैंको.मुखैमा महानवमीका दिन मंगलबार दमकका हेडसर भनेर चिनिएका वयोवृद्ध छविलाल शर्मा सिटौलालाई पूर्व शिक्षक, विद्यार्थी तथा हिमालय माध्यमिक विद्यालय परिवारले एक कार्यक्रमका बीच अभिनन्दन गरेका छन् । सिटौलाको शिक्षक सेवाको यात्रा तथा उनले पुर्‍याएको योगदानका बारेमा प्रकाशित अभिनन्दन ग्रन्थ लोकार्पण समारोहमा अभिनन्दनको कार्य पनि सम्पन्न भएको हो । झापाको दमकमा तिन दशक जति हिमालय मा.वि.को स्थापना र विकासमा प्रधानाध्यापकको भूमिकामा रहेको गरेको सेवा र योगदानको कदर गर्दै सिटौलालाई अभिनन्दन पत्र, दोसल्ला, ढाका टोपी र फूलमालाले अभिनन्दन गरिएको हो ।
दमक–२ स्थित हिमालय मा.वि.को सभाहलमा खचाखच भरिएका पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा आमन्त्रितहरुको बीचमा उनलाई प्रमुख अतिथि दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई, सहकर्मी शिक्षासेवी मेघराज तिम्सिना र सो विद्यालयका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष भगवान बस्नेतले संयुक्त रुपमा सम्मान तथा अभिनन्दन गरेका हुन् ।

सँगै
लोकार्पण गरिएको कृति ‘दमकका हेडसर श्री छविलाल सिटौला अभिनन्दन ग्रन्थ–२०८३’ को प्रकाशक सेर्गेम प्रकाशन गृह रहेको र त्यसमा ५० भन्दा बढी लेखकहरुले सिटौलाको व्यक्तित्व, सेवा कार्य, संगत, सहकार्य, स्मृति र योगदानका बारेमा लेखेका लेखहरु समेटिएका छन् । कृतिको मुख्य सम्पादन मूर्धन्य विद्धान प्रा.डा. गोविन्दराज भट्टराईले गरेका छन् ।
अभिनन्दन सहभागी सबैको तर्फबाट गरिएको हिमालय मा.वि.का प्रधानाध्यापक द्रोर्णबहादुर श्रेष्ठले जानकारी गराए । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि दमक नगर प्रमुख थापाले दमकमा शिक्षाको आधारस्तम्भ खडा गर्न र शिक्षाको ज्योति फैलाउनमा सिटौलाले गरेको योगदान सदा स्मरणीय रहने बताए । हिमालय मा. वि. र छविलाल सिटौलाको योगदानको चर्चा सदैव हुने उनको भनाई थियो । विशिष्ट अतिथि दमक नगर उप–प्रमुख भट्टराईले छविलाल सरको समयमा विद्यालय स्थापना गर्न र शिक्षा क्षेत्रको विकासका लागि गरेको संघर्ष प्रशंसनीय रहेको बताइन् । सिटौलालाई हिमाविको हेड सर बनाउन योगदान गर्ने र तेह्रथुमबाट दमकमा ल्याउने सहकर्मी मेघराज तिम्सिनाले तत्कालिन समयमा स्नातक पास गरेको व्यक्ति नभएकाले सिटौलालाई आफूले दमकमा बोलाएको प्रष्ट पारे ।


कार्यक्रममा कोशी प्रदेश सांसद होमबहादुर थापा,प्रदेश सांसद नम्बरलाल धिमाल, पूर्व प्रदेश सांसद अर्जुन राई, दमक बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.मोहन भण्डारी, हिमालय मा.वि. विद्यालय व्यवस्थापन समिति अध्यक्ष ममता पौडेल, कवयित्री आचार्य प्रभा लगायतको आतिथ्यता रहेको थियो । हिमावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष भगवान बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पूर्व विद्यार्थी डा. लेखनाथ न्यौपाने, कृति जन्माउँदाको कष्टका बारेमा वरिष्ठ पत्रकार तोया गौतम, अभिनन्दन पत्र वाचन पूर्व शिक्षक नेत्र न्यौपाने तथा कार्यक्रम संचालन पूर्व विद्यार्थी कमलप्रसाद दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *