काठमाडौं/ ज्येष्ठ नागरिक प्रति हुने दुर्व्यवहार विरुद्धको २० औं विश्व चेतना दिवस (जुन १५) भव्य कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको सह–आयोजनामा काठमाडौंको बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको सभाहलमा अगुवा ज्येष्ठ नागरिक र सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यशाला गोष्ठी गरी यस्तो कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नोवल किशोर साह सुडीले ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार अन्त्यका लागि समाजको दोश्रो र तेश्रो पुस्तालाई सम्मानजक व्यवहार गर्नका लागि सचेत, जागरुक र सजग गराउनुपर्ने कुरामा जोड दिए ।
मन्त्री सुडीले त्यसका लागि विद्यालय तहको पाठ्यक्रममा सामाजिक र नैतिक शिक्षा पढाउनुपर्ने कुरामा पनि आवश्यक व्यवस्था गर्र्नुपर्ने खाँचो पनि औंल्याए । त्यस्तै ज्येष्ठ नागरिकहरुले आफ्नो जीवनको उत्तरार्धको समय सरल, सहज र सही ढंगले बाँच्नको लागि आफूसँग भएको चलअचल सम्पत्ति आफ्नै नाममा राख्न सुझाव पनि उनले दिए । मन्त्री सुडीले तर ज्येष्ठ नागरिकको पुस्ता र नयाँ छोरा नाति पुस्ताबीच भइरहेको अन्तरद्वन्द्व न्यूनीकरण गरेर मेलमिलापपूर्ण, सकारात्मक र अनुकूल जीवन बाँच्न भने स्वयं ज्येष्ठ नागरिकहरुले आफूलाई पनि बदलिँदो परिस्थितिअनुरुप बनाउन सक्नुपर्छ भन्ने धारणा राखे । उनले ज्येष्ठ नागरिकहरुलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताको सन्दर्भमा बोल्दै त्यसमा विपन्न नागरिकहरुलाई केही बढी प्राथमिकता दिनुपर्छ भन्ने विचार व्यक्त गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुर्व्यवहार हटाउन राज्य, सरकार, समुदाय, घरपरिवार र सरोकारवालाहरुले साझा प्रतिवद्धता गरेर अघि बढ्नुपर्ने बताइन् । पछिल्लो समय घरमा रहेको युवा पुस्ता बाहिर जाँदा या विदेशीँदा ज्येष्ठ नागरिकमा एक्लोपन बढेको र त्यसबाट उनीहरुमा मानसिक तनाव समेत उत्पन्न हुने गरेको अवस्था उनले दर्शाइन् । उनले अहिलेको नाति पुस्ता ज्येष्ठ नागरिकसँग बस्नेभन्दा पनि मोबाइलमा बढी समय बिताउने खालको भएकाले अर्को समस्या देखिएको प्रष्ट पारिन् । तर यस मामिलामा के कस्तो कार्ययोजना बनाएर अघि बढ्न सकिन्छ भने मन्त्रालय छलफलमा रहेको उनको भनाई थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार न्यूनीकरण गर्न उनीहरु स्वयंलाई भन्दा पनि युवा र बालबालिबाहरुलाई सँगसँगै राखेर घरपरिवार र समाजमा के कस्तो व्यवहार गर्ने भनेर शिक्षा र जागरणका कार्यक्रम संचालन गर्नुपर्ने बताइन् । उनले ज्येष्ठ नागरिकको मानवअधिकार रक्षाका लागि उनीहरुलाई पनि सामाजिक सुरक्षाको मूल प्रवाहमा राखेर कार्यव्यवहार गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिइन् ।
त्यसैगरी शुभकामना मन्तव्य राख्दै राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति देवीप्रसाद सुवेदीले ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार हटाउन उनीहरुलाई नयाँ पुस्ताले हेर्ने र व्यवहार गर्ने कुरामा सकारात्मक भाव सिर्जना गर्न सक्नुपर्ने बताए । राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिका खेलाउने र उनीहरुको संरक्षण गर्ने ज्येष्ठ नागरिकहरु आफैँ दुर्व्यवहारमा पर्ने अवस्था आउनु दुःखद भएको भन्दै नेपाल वृद्धवृद्धाको देश हुने खतरा रहेको तर्फ सचेत हुँदै वृद्धावस्था व्यवस्थापनका लागि राज्यले स्पष्ट नीति, योजना र कार्यक्रम मार्पmत् सम्बोधन गर्नुपर्ने बताए । त्यस अवसरमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका निवर्तमान अध्यक्ष छत्रबहादुर प्रधानले पनि ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार चिन्ताको विषय भएको भन्दै यसलाई अन्त्य गर्न सरोकारवाला सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका नवनिर्वाचित अध्यक्ष सूर्य प्रसाद श्रेष्ठले समापन मन्तव्य राख्दै ज्येष्ठ नागरिकप्रति सन्तान र समाजको सम्मान बढाउन, उनीहरुको भौतिक, सामाजिक र आर्थिक सुरक्षा बढाउन छोरा बुहारी, छोरी ज्वाइँ लगायत नाति पुस्ताका विद्यार्थीहरुमा नैतिक शिक्षा दिँदै सचेतना र जागरुकताका कार्यक्रमलाई अभियानका रुपमा संचालन गर्नुपर्ने बताए । उनले नयाँ पुस्तालाई पुरानो पुस्ताप्रति आदरभाव, सम्मान र श्रद्धा गर्ने शिक्षा दिनुपर्ने साथै नयाँ पुस्तामा पुरानो पुस्ताको ज्ञान, सीप र अनुभव साझेदारी गरी हस्तान्तरणको कार्यक्रम गर्न ठोस पहलकदमी गर्नुपर्ने धारणा राखे । यी सबै कार्यहरुका लागि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ ७७ वटै जिल्लामा रहेका जिल्ला संघहरुसंग समन्वय र परिचालन गरी अग्रसर भएर कार्य गर्न तयार रहेको उनले प्रष्ट पारे ।
कार्यक्रममा पद्यकन्या क्याम्पसकी सामाजिक कार्य विभाग प्रमुख डा. सुक्रिता राईले ‘ज्येष्ठ नागरिक विरुद्ध हुने दुर्व्यवहार अन्त्यका लागि तथ्यमा आधारित नीति र कार्य’ विषयक कायपत्र प्रस्तुत गरेकी थिइन् भने नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयकी प्रहरी निरीक्षक नीता थापाले नेपालमा ज्येष्ठ नागरिकमाथि भइरहेको दुर्व्यवहारको अवस्था, कानुनी व्यवस्था र परिणामका बारेमा तथ्यांक सहित सविस्तार प्रस्तुति गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघकी नवनिर्वाचित प्रथम उपाध्यक्ष शारदा देवी चन्दले ज्येष्ठ नागरिकमाथि घरपरिवार र समाजमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कतिपय अवस्थामा दुर्व्यवहार भइरहेको कुरा यथार्थ भएको अवगत गराउँदै यसका विरुद्ध सरोकारवाला सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने र दुर्व्यवहार रहित समाजको निर्माण गर्न लागी पर्न सबैलाई आग्रह गरिन् । कार्यक्रमको संचालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक संरक्षण शाखाकी प्रमुख महिला विकास अधिकृत निर्मला कार्कीले उत्कृष्ट र आकर्षक तरीकाले गरेकी थिइन् ।
