दमक/ झापाको दमकमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपुर्जा वितरण गर्ने कार्य शुरु गर्न तयारी थालिने भएको छ । यही आउँदो सोमबार देखि सो सम्बन्धी आवश्यक प्रकृया र जग्गा नापजाँचको कार्य पुनः शुरु गरिने भएको हो । दमक नगरपालिकाको बैठक हलमा शुक्रबार जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, नगरपालिकाका जनप्रतिनिधि साथै अन्य सरोकारवालाहरुबीच भएको अन्तरिक्रयामा यस्तो बताइएको हो । वडा नं. १० का ३६ जनालाई जग्गा धनीपुर्जा वितरण भइसकेको दमकमा करिब एक सय जनालाई पुर्जा वितरणका लागि पालिकाबाट सिफारिस भइसकेको अवस्थामा सो कार्य विगत झण्डै एक वर्षयता रोकिएको थियो ।
विगतमा रहेको विघटित भूमि आयोगले यस सम्बन्धमा धेरै काम गरिसकेको थियो । तर गत फागुनमा भएको आम निर्वाचनबाट नयाँ सरकार आएपछि जग्गा नाप जाँच, सिफारिस तथा पुर्जा वितरणको कार्य रोकिएको थियो । नेपाल सरकारकै निर्देशनमा रोकिएको काम अहिले आएर पुनः सुचारु हुने भएको छ । तर पालिकाका जनप्रतिनिधिहरुको कार्यकाल भने अब आगामी जेठ सम्म मात्र रहेको छ । यस्तो अवस्थामा अब नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन र हाल रहेका जनप्रतिनिधिको छोटो कार्यकालमा सुकुम्बासी समस्या समाधानको काम कति हुने हो यसै भन्न सकिने अवस्था छैन ।
तैपनि सरकारले देशभरि यस्तो काम गरिरहेको छ । दमक बर्तमान पं्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र पनि हो । यसैले दमकमा मात्र होइन, यस कार्यमा सरकार र प्रशासनको विशेष चासो र तदारुकता झापाभरि नै रहने स्पष्ट देखिएको छ । दमक नगर प्रमुख रामकुमार थापाले पनि विगतमा यस कार्यका लागि नगरपालिकाले डेढ करोड रुपैयाँ खर्च गरिसकेको र काम हुने सन्दर्भमा अझै पनि खर्च गर्न साथै तीब्र गतिमा काम गर्न जिल्ला समितिलाई सकेको सहयोग गर्ने प्रष्ट पारे । नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले पनि विगतमा जे जस्तो भएपनि आगामी दिनमा पालिका र प्रशासन मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।

दमकमा विगतका केही वर्षमा जिल्ला भूमि आयोगको शाखा कार्यालय नै राखेर काम गरिएको थियो । अहिले पनि फोकल पर्सन राखेर काम गर्न नगरपालिका तयार रहेको नगर प्रमुख थापाले प्रतिवद्धता जनाए । उनले सकेसम्म यो कार्यकालभित्रै जग्गा धनीपुर्जा बाँड्ने कार्यका लागि प्रगति होस् भन्ने आफूहरुको चाहना रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका सबै वडाका वडाध्यक्षहरुले खोला, नदी, पैनी उकासका जग्गाहरु पनि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले भोग गरिरहेको भनेर दर्ता गराएको हँुदा त्यो समस्यालाई कसरी सम्बोधन गर्ने भनेर छलफल गरी निष्कर्ष निकाल्नुपर्ने आवाज उठाए । उनीहरुले वन तथा बाटोको जग्गा समेत भोगचलन भइरहेको सन्दर्भ कोट्याउँदै त्यसलाई कसरी सम्बोधन गर्ने भनेर प्रष्ट हुनुपर्ने खाँचो औँल्याए । उनीहरुले जग्गा नाप जाँच, सर्जमिन, प्रमाणिकरण र सिफारिसका लागि आफूहरु सदैव सकारात्मक सहयोग गर्न तयार रहेको बताए । तर पटक पटक सरकार फेरिएपिच्छे उही पुरानो प्रकृया दोहोर्याउनुपर्ने कुरा भने सम्बन्धित जनता र सरोकारवाला सबैका लागि झन्झटिलो हुने अन्तरक्रियामा उनीहरुको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति झापाका सदस्य सचिव तथा नापी कार्यालय भद्रपुरका प्रमुख नापी अधिकृत शिवप्रसाद लम्सालले नगरपालिका बाट प्रकृया पूरा भइ सिफारिस भएका सुकुम्बासीलाई जग्गा धनीपुर्जा दिने कुरामा प्रष्ट हुन सबैलाई आग्रह गरे । तर कागजात पूरा नभएका फाइलले भने मान्यता नपाउने उनको भनाइ थियो । कार्यक्रममा भूमि प्रशासन कार्यालय भद्रपुरका प्रमुख गणेश कुमार खड्का र नापी कार्यालय दमकका प्रमुख शिवप्रसाद जोशीले जनशक्तिको व्यवस्थापन र आवश्यक उपकरणको उचित बन्दोबस्ती गर्न सहकार्य र समन्वय गरिने बताएका थिए ।
जेन जी आन्दोलन अघिका सरकारले राजनीतिक व्यक्तिहरुको नेतृत्वमा सुकुम्बासी समस्या समाधानको काम आयोग गठन गरी अघि बढाएकोमा अहिलेको सरकारले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान आयोग गठन गरी काम थालनी गरेको छ । यसै सन्दर्भमा झापाकै कतिपय पालिकाहरुमा भने अहिलेको समितिले केही सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा पनि वितरण गरिसकेको अवस्था छ ।

