समाचार

दमक नगरपालिकाको वार्षिक समीक्षा तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

दमक/ झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा ल्याएका नीति, योजना, बजेट तथा कार्यक्रम कार्यान्वयन बारे समीक्षा गरेको छ । साथै चालू आर्थिक वर्षको बजेट पुस्तिका सार्वजनिकीकरण समेत गरेको छ । अघिल्लो वर्षमा भएका काम र तिनको प्रगतिबारे प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारीमूलक प्रस्तुति गरेका थिए । बिहीबार दमक–६ स्थित पशुपति मन्दिरको सभाहलमा भएको वार्षिक समीक्षा कार्यक्रममा केही दिनअघि मात्र कार्यभर सम्हालेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले आकर्षक प्रस्तुति गरेका थिए ।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि तथा संचारकमीहरु सँग सुझाव सल्लाह मागिएको थियो । उनीहरुले विगतमा गरिएका असल अभ्यासका कामहरुमा बहुसंख्यक नगरवासी लाभान्वित हुनेगरी योजनाहरुलाई परिमार्जन तथा सुधार गर्न भनेका थिए । तर यो वर्ष २०७९ सालमा जननिर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम वर्ष भएको र आगामी फागुनमा चुनाव हुने चर्चा चलिरहेका बेला सकेसम्म राम्रा र बढी जनमुखी कामहरु गरेर बाहिरीन सहभागी केहीले सुझाव दिएका थिए ।


त्यस्तै विकास निर्माण काम र सामाजिक विकासका काममा प्रगति भएपनि तिनको दिगोपना र नगरवासी कति लाभान्वित भए भन्ने कुराबाट नै अहिलेको जनप्रतिनिधिको मूल्यांकन हुने कतिपयले प्रतिक्रिया दिएका छन् । त्यस अवसरमा चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पुस्तिका नगर प्रमुख राम कुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई र वडाध्यक्षहरुले एकैसाथ सार्वजनिक गरेका थिए भने सोही क्रममा दमक नगर बुलेटिन पनि वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भट्टराईले दमक नगरपालिकाको प्रगति, असल अभ्यास, केही समस्या र चुनौतीहरुका बारेमा पनि पारदर्शी ढंगको जानकारी गराएका थिए । कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख थापाले विगतका चार वर्षमा सकेसम्म नगरवासीेको अधिकतम हितमा हुनेगरी कार्य गरेको र त्यसका लागि सबै जनप्रतिनिधि र कर्मचारीबीच ऐक्यवद्ध पहल भएको बताए । नगर प्रमुख थापाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका स्थानीय तह मध्ये सबैभन्दा बढी क्षति दमक नगरपालिकाको भएको र पुरानो मुख्य प्रशासकीय भवन जीर्ण भएकाले सो ठाउँमा अर्को नयाँ प्रशासकीय भवन निर्माणका लागि ठेक्का लगाइसकिएको जानकारी गराए ।


नगर प्रमुख थापाले विगतमा लिएका नीति, योजना र कार्यक्रममा केही कमी कमजोरी देखिएमा सरोकारवालाबाट सुधारका लागि आउने सकारात्मक सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रष्ट पारे । कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शारदा सापकोटा भट्टराईले स्वागत मन्तव्य र वडा नं. ९ का वडाध्यक्ष कुवेरप्रसाद भट्टराईले कार्यक्रमको औचित्यका बारेमा बोलेका थिए । कार्यक्रम संचालन नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख केशवप्रसाद प्रसाईले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, नगर सुरक्षाकर्मी, प्रहरी, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *