कमल/ झापाको कमल–५ स्थित लगनशिल कृषि सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा उत्कृष्ट ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट कर्मचारी, उत्कृष्ट कारोबारी लगायतलाई सम्मानित गर्दै भव्यतापूर्वक सम्पन्न भएको छ । स्थानीय रोड स्टार पार्टी प्यालेसमा सो वडाका वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्टलाई प्रमुख अतिथि बनाउँदै अध्यक्ष गोविन्द खनालको वार्षिक प्रतिवेदन र लेखा संयोजक युवराज कार्कीको लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुति सँगै आवश्यक छलफल पछि पारित गर्दै सफलतापूर्वक सम्पन्न भएको हो । साधारण सभाले चालू आर्थिक वर्षका लागि नीति, योजना र कार्यक्रम पनि तर्जुमा गरेको छ ।
जसअनुसार नेपाल सरकारको सहकारी प्राधिकरणको नयाँ नीति निर्देशनअनुसार ऋण लिने शेयर सदस्यबाट अतिरिक्त रुपमा सेवा शुल्क लिन नपाउने नयाँ नियमलाई पनि यसै वर्षबाट लागू गरिने भएको छ । यसअघि ऋण लिँदा ऋणी शेयर सदस्यहरुबाट कुल कर्जाको एक या आधा प्रतिशत सेवा शुल्क लिइँदै आएको थियो । लगनशिलले पनि नयाँ नियम अपनाउने भएको छ । साथै इलामको चुलाचुली र झापाको कमलमा नयाँ सदस्यता विस्तार तथा सेवा प्रवाहलाई चुस्त दुरुस्त अनि प्रभावकारी बनाउन घरदैलो कार्यक्रम पनि गरिने भएको छ । दुग्ध डेरीको कारोबार, पशु आहारा वितरण, बाख्रापालन, बंगुरपालन तथा तरकारी खेती किसानलाई पनि प्रोत्साहन गरिने भएको छ । यससँगै सहकारीको अध्यक्ष गोविन्द खनालले किसान र पशुपालक किसानहरुको अधिकतम हितमा हुनेगरी सहकारीको विधि, प्रकृया र नियममा रहेर आगामी दिनमा कारोबारलाई अघि बढाइने बताए ।

प्रमुख अतिथि वडाध्यक्ष विष्टले लगनशिलको कारोबार र सेवा प्रवाह समुदायमा आधारित रहेर विधि र प्रकृयाबाट गरिँदै आएको हँुदा अहिले सम्म खासै ठूलो समस्या आएको आफूले थाहा नपाएको बताए । शेयर सदस्यहरुको विश्वासलाई जितेर कारोबार गरेको हुँदा कमल गाउँपालिकाको तर्फबाट पनि सकेको सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
सम्मानित हुने उत्कृष्ट शेयर सदस्यहरुमा मानबहादुर ओझा, डिल्लीराम उप्रेती, खड्गबहादुर बगाले, भुवानीप्रसाद घिमिरे र भानुभक्त न्यौपाने रहेका छन् । उनीहरुलाई ओड्ने ब्लाङ्केट सहित सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्मचारीका रुपमा डेरी तर्फका लेखापाल अंकित सापकोटालाई नगद ५ हजार सहित प्रमाण पत्रले पुरस्कृत एवं सम्मानित गरिएको थियो । गएको एस.ई.ई. परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी मध्येबाट सुमित राज विष्ट र रोजन बस्नेतलाई नगद जनही ५/५ हजार र प्रमाण पत्र दिएर पुरस्कृत गरियो । उत्कृष्ट कारोबार गर्ने मुद्दती तर्फ, बाल वचत तर्फ, दुध उत्पादन तर्फ, दुध ल्याउने ज्येष्ठ किसान, सफा दुध ल्याउने किसान, उत्कृष्ट तरकारी खेती तर्फ, बाख्रा पालन तर्फ, बंगुर पालन तर्फ र कुखुरा पालन तर्फका उत्कृष्ट किसानहरुलाई पनि साधारण सभामा सम्मानित गरिएको थियो ।

यस्तो सम्मान प्रमुख अतिथि विष्ट, अध्यक्ष खनाल तथा अन्य अतिथिहरुले पालै पालो सँग प्रदान गरका थिए । सहकारीकी उपाध्यक्ष रिता खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रम संचालन भने सचिव भीष्मप्रसाद सिटौलाले गरेको व्यवस्थापक तिलक कार्कीले जानकारी गराए ।
