समाचार

कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं साधारणसभा धमाधम

दमक/ झापाको दमक–८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा यही भदौ १६ देखि शुरु भइ धमाधम भइरहेको छ । दमक मुख्य कार्यालय इकाइमा पहिलो दिन प्रमुख अतिथि दमक–८ का वडाध्यक्ष धर्मप्रसाद (दीपेश) दाहाल, कोशी प्रदेश सांसद होमबहादुर थापा र सहकारीका संस्थापक अध्यक्ष चन्द्रप्रसाद नेपालले संयुक्त रुपमा विभिन्न विधि कर्म गरी साधारण सभाको उद्घाटन गरे । सोही क्रममा सहकारीको वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।
त्यसक्रममा वर्षभरि सहकारीमा उत्कृष्ट कारोबार गर्ने वचत तथा ऋण तर्फका शेयर सदस्यहरुलाई साधारण सभाको समापन र सम्बन्धित इकाइमा हुने साधारण सभामा पुरस्कृत तथा सम्मानित गर्ने घोषणा सहित नामावली समेत सुनाइएको छ । इकाइगत साधारण सभा बुधबार डुँडामारी र कनकाई सेवा कार्यालयको कनकाईमा पनि सम्पन्न भइसकेको छ । आज बिहीबार १८ गते मोरङको मिक्लाजुङ र पथरीशनिश्चरे सेवा कार्यालयको मधुमल्लामा पनि इकाइगत साधारण सभा सम्पन्न भएको छ । पर्सि शनिबार २० गते उर्लाबारी सेवा कार्यालयको उर्लाबारीमा र २१ गते गौरादह सेवा कार्यालयको गौरादहमा हुनेगरी कार्यक्रम तय भएको जानकारी गराइएको छ । भदौ २९ गते भने समुच्च रुपमा माइन्यूट प्रमाणीकरण तथा साधारण सभा दमक मुख्य कार्यालयमा समापन हुने व्यवस्थापक मोहनमणि गौतमले बताए ।


साधारण सभाको अध्यक्षता गरेका सो सहकारीका अध्यक्ष भरत कुमार चम्लागाईले वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति सदस्य विनिता दाहालले लेखा प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनअनुसार २०५७ सालमा ५१ जना शेयर सदस्यबाट स्थापना गरिएको सो सहकारीमा हाल पुरुष २०८५ र महिला १९५७ गरी जम्मा ४ हजार ४२ जना शेयर सदस्यहरु रहेका छन् । सहकारीको शेयर पुँजी ६ करोड ३६ लाख ७७ हजार पाँच सय, निक्षेप ६३ करोड ६३ लाख ८३ हजार ६५६ रुपैयाँ, कर्जा लगानी ६२ करोड १५ लाख ३८ हजार ८१२ रुपैयाँ र विभिन्न कोषमा ७ करोड ९९ लाख ६५ हजार ५८८ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । वचत तथा कर्जा कारोबार नै मुख्य भएको सो सहकारीले विभिन्न सामाजिक काम र शेयर सदस्यहरुलाई विभिन्न सुविधा दिँदै आएको छ ।
साधारण सभामा प्रमुख अतिथि वडाध्यक्ष धर्मप्रसाद (दीपेश) दाहालले विधि र प्रकृयामा चलेको अनि पारदर्शीताका कारण कञ्चनजंघा सहकारीको स्थानीय समुदायमा सकारात्मक र स्वच्छ छवि रहेको बताए । स्थानीय सरकारको हैसियतमा दमक नगरपालिकाले पनि सही मूल्यांकन गरिरहेको हुँदा आवश्यक सहयोग, सहकार्य र समन्वय गर्न आफ्‌नो तर्फबाट पहल हुने उनले प्रष्ट पारे । कोशी प्रदेश सांसद तथा सहकारीका पूर्व अध्यक्ष होमबहादुर थापाले निजी स्वार्थमा चलेका कतिपय बद्नाम सहकारीका कारण सिंगो सहकारी क्षेत्रमा असर परेको भन्दै घाटामा नरहेको र आर्थिक हिसाब किताब हेर्दा कञ्चनजंघा सहकारी ठीक ढंगले चलेको आफूले पाएको धारणा राखे । सहकारीका निवर्तमान अध्यक्ष मणिकुमार भण्डारी र अनुगमन समिति संयोजक हेमनाथ अधिकारीले पनि समुदायमा आधारित भएर सञ्चालन भएकाले कञ्चनजंघा सहकारी अहिलेसम्म भरपर्दो रहेको बताए । उपाध्यक्ष विमल प्रसाद निरौलाले स्वागत मन्तव्य राखेको साधारण सभाको कार्यक्रममा संचालन भने व्यवस्थापक मोहनमणि गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *