समाचार

दमककी नारी स्रष्टा दुर्गा खनाल काफ्‌लेको उपन्यास ‘अनुराग र वियोग’ लोकार्पण

दमक/ नारी स्रष्टा तथा पूर्व शिक्षक दुर्गा काफ्‌ले खनालको उपन्यास ‘अनुराग र वियोग’ को शनिबार लोकार्पण गरिएको छ । झापाको दमकस्थित गोरखा डिपार्टमेन्टको सभाहलमा खचाखच भरिएका साहित्यप्रेमीहरुका माझ नेपाली तथा अंग्रेजी भाषाका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई र अन्य विशिष्ट स्रष्टाहरुले सो कृतिको सामूहिक रुपमा लोकार्पण गरेका हुन् । समाजसेवामा समेत सक्रिय काफ्‌लेको यो चौथो उपन्यास हो ।
यसअघि उनका ‘मनको विचलन’, ‘प्रेम सरोवर’ र ‘चाँदनी’ नामका उपन्यासहरु प्रकाशित भइसकेका छन् । अहिले प्रकाशित चौथो उपन्यास सामाजिक कथामा आधारित महिलाले भोग्नुपरेको पीडा र उत्पीडनको सेरोफेरोमा लेखिएको जानकारी गराइएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भट्टराईले दमकबाट यसरी निरन्तरजसो उपन्यास लेखन र प्रकाशन गर्ने काफ्‌ले दमकले गौरव गर्नुपर्ने नारी स्रष्टा भएको बताए । कृतिको समीक्षा गर्दै समीक्षक शिव रेग्मी ‘प्रणत’ ले यो कृतिमा लैङ्गिक विभेदको कुरुप तस्वीरलाई सशक्त ढंगले चित्रण गरिएको बताए । अर्का समीक्षक साहित्यकार भीम दाहालले नेपाली समाजमा महिलामाथि गरिने विभेदको यथार्थ अवस्था पस्किएर सामाजिक न्यायका लागि सबैले सचेत भएर अघि बढ्नुपर्ने सन्देश उपन्यासले दिएको धारणा राखे ।


साहित्य कला सङ्गमकी उपाध्यक्ष स्रष्टा तथा उपन्यासकार काफ्‌लेले आफूलाई शुरुदेखि नै उपन्यास विधामा कलम चलाउन सजिलो लाग्ने र त्यसैमा आफ्‌नो कलमको प्रवाह नरोकिने गरी बग्ने गरेको बताइन् । कृतिको भाषा सम्पादन शिव रेग्मी ‘प्रणत’ ले गरेका छन् । साहित्य कला सङ्गमको आयोजना र सङ्गमका अध्यक्ष विन्दु दहाल मूकदर्शकको अध्यक्षतामा भएको कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. गोपालप्रसाद भण्डारी, प्रगतिवादी समालोचक बद्रीविशाल पोखरेल, प्राज्ञ सुमित्रा वाङ्देल चेली, कोशी साहित्य प्रतिष्ठानका अध्यक्ष केशु विरही, उर्जाशील साहित्य प्रतिष्ठान चारपानेका अध्यक्ष डिपी शर्मा, छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा लगायत पूर्वका चिनिएका साहित्यकार तथा स्रष्टाहरुले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य यादव अधिकारी झाक्रीखोलेले राखेका थिए भने कार्यक्रमको सञ्चालन सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए । कार्यक्रममा स्रष्टाहरुले कविता वाचन गर्नुका साथै गीत समेत गाएका थिए भने बीच बीचमा कलाकारहरुले साङ्गीतिक प्रस्तुति गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *