समाचार

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानमा रामायण वाचन र कविता प्रतियोगिता

दमक/झापाको दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमकले रामायण वाचन तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतिष्ठानले सोमबार २१३ औँ भानु जयन्तीका अवसरमा रामायण वाचन तथा कविता प्रतियोगिता आयोजना गरेको हो । ज्येष्ठआमा, बुबा सहित साहित्यप्रेमी महानुभावहरुको सहभागिता रहेको रामयाण वाचन प्रतियोगिता तर्फ दमक–१ की सरिता खनाल प्रथम, दमक–५ का विष्णु बराल दोस्रो र दमक –२ का त्रिलोचन उप्रेती तेस्रो भएको प्रतिष्ठानकी सह–सचिव उर्मिला भट्टराइले जानकारी दिइन् ।


ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको रामायण वाचन तथा कविता प्रतियोगिता कार्यक्रममा कविता प्रतियोगिता तर्फ दमककै गजेन्द्र घिमिरे प्रथम, दमक– ९ की सुशीला अधिकारी दोस्रो र दमक–६ की भगवती गिरी तेस्रो भएको उपाध्यक्ष शिवप्रसाद काफलेले जानकारी दिए ।
प्रतियोगिताका विजेताहरुलाई दमक नगरपालिका शिक्षा समितिका संयोजक तथा दमक–९ का वडाध्यक्ष कुवेर भट्टराईले प्रमाण–पत्र तथा पुरस्कार प्रदान गरे । वडाध्यक्ष भटराईले आदिकवि भानुभक्तले सबै नेपालीको ओठ–ओठमा झुण्डीएको कविताको श्लोकहरु संंस्कृतबाट नेपालीमा अनुवाद गरेका बताए । त्यसैले भानुभक्तको नेपाली भाषा साहित्यमा ठूलो योगदान रहेको प्रष्ट पारे । संस्थाका अध्यक्ष पौडेलले नेपाली भाषा साहित्यको उत्थानमा आदिकवि भानुभक्त आचार्यले पुर्‍याएको योगदानलाई कदर गर्दै हरेक वर्ष रामायण वाचन कार्यक्रम आयोजना गर्ने गरेको बताए । प्रतियोगिता तथा कार्यक्रमको औचित्यमाथि संस्थाका सल्लाहकार कमल दाहालले प्रकाश पारेका थिए । रामायण वाचनमा १७ जना र कविता वाचनमा १० जना सहभागी रहेको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *