दमक/ झापाको दमकमा आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती प्रभातफेरि र विशेष समारोह आयोजना गरी धुमधामका साथ मनाइएको छ । दमक प्रज्ञा प्रतिष्ठानले सोमबार विहान प्रभातफेरिपछि भानुभक्तको सालिकमा माल्यार्पण गर्नुका साथै दिउँसो ५ जना स्रष्टाहरुलाई सम्मान गरेर जन्मजयन्ती मनाएको हो । समारोहमा आदिकवि भानुभक्तका बारेमा चर्चा परिचर्चासँगै उनका रचनाहरु वाचन गर्ने र कार्यपत्र समेत प्रस्तुत गर्ने कार्य भएको छ ।
स्थानीय गोर्खा डिपार्टमेन्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर दमकका स्रष्टाहरु वयोवृद्ध छविलाल शर्मा सिटौला, दक्षराज शर्मा दाहाल, मेघराज तिम्सिना, खेमलाल पोखरेल र गणेशमान धिमाललाई जनही २१ हजार नगद, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको छ । सम्मानित स्रष्टाहरुले दमकको शिक्षा र साहित्यको क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएकाले उनीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा, प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. गोपाल प्रसाद भण्डारी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार निरौलाले नगद, ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे ।

सम्मानित स्रष्टाहरु दमकको इतिहास र गौरव भएको बताउँदै दमक नगर प्रमुख थापाले आदिकवि भानुभक्तले नेपाली भाषा साहित्यमा पुर्याएको योगदान सदा स्मरणीय रहीरहने बताए । उनले नेपालीहरुले आदिकविलाई जुगजुग सम्म सम्झिरहने प्रष्ट पार्दै भाषा, साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा रहेका प्रतिभाहरुको कदर गर्न र ती क्षेत्रको श्रीवृद्धिका लागि सकेको सहयोग गर्न नगरपालिका तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे । सम्मानित स्रष्टाहरुका बारेमा दमक प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जयबहादुर श्रेष्ठले व्यक्तित्व परिचय गराएका थिए ।
प्रज्ञा प्रतिष्ठानका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकै पूर्व अध्यक्ष हेम अधिकारीले भानुभक्तको बारेमा तयार पारेको कार्यपत्र प्रस्तुत गरे भने साहित्यकार शिव प्रणत रेग्मीले त्यसमाथि टिप्पणी गरेका थिए । बालप्रतिभा रियाज रिजालले आदिकवि भानुभक्तको कविता अंश लयमा सुनाएका थिए । प्रज्ञा प्रतिष्ठानकी उपाध्यक्ष डा. व्यन्जना शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा विहानी कला केन्द्रका सर्जकहरुले स्वागत गीत गाएका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य कवि धनकुटे कान्छाले गरेका थिए भने उनलाई सदस्य सचिव श्रेष्ठले साथ दिएका थिए । कार्यक्रममा दमकका शैक्षिक, साहित्यिक, सामाजिक, सांगीतिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयका राष्ट्रिय सेवा दलका विद्यार्थीहरुको पनि आकर्षक उपस्थिति रहेको थियो ।


कार्यक्रम हुनुभन्दा अघि विहानको समयमा दमक नगरपालिका प्राङ्गणमा भेला भइ विभिन्न जातजातिको झाँकी सहित साहित्य अनुरागीहरुको प्रभातफेरि फाल्गुनन्द चौक हुँदै आदिकवि भानुभक्तको सालिकमा पुगेर रामायण वाचनको कार्यक्रम गर्नुका साथै माल्यार्पण गरिएको थियो । दुवै कार्यक्रममा दमक नगरपालिकाका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

