समाचार

नागरिकका प्रश्न र सुझावसँगै दमक नगरपालिकाले गर्‍यो सार्वजनिक सुनुवाई

दमक/ झापाको दमक नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ मा गरेका विकास निर्माणका कार्य तथा सुशासन र सेवा प्रवाहका बारेमा नगरवासीलाई जानकारी दिलाउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा सहभागी नागरिकले उठाएका गुनासा र प्रश्नहरुमा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित शाखाका अधिकारीहरुले जवाफ दिएका थिए ।


त्यसक्रममा नगर प्रमुख राम कुमार थापाले कतिपय अवस्थामा विकास निर्माणका कार्यमा विधि र मापदण्ड पूरा हुन नसकेको भन्ने गुनासोमा त्यस्तो हुनुमा परिस्थितिजन्य र बाध्यात्मक कारण रहेको जानकारी गराए । कतै मापदण्ड अनुसारका बाटाहरु नरहेको, कतै बजेट अभावका कारण विकास निर्माणका कामहरु बेलामा हुने नसकेको यथार्थ उनले पनि स्वीकार गरे । नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले महिला, बालबालिका, ज्येष्ठ नागरिकको सवालमा मात्र होइन, न्याय सम्पादनका कार्यमा समेत सकेको काम गरिएको प्रष्ट पारिन् । सामाजिक सेवाका कामहरुमा नगरवासीहरुको हितलाई ध्यानमा राखिएको र सुशासन साथै सेवा प्रवाहमा कुनै गुनासो नआउने गरी काम गरिएको पनि उनले बताइन् ।


प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार निरौलाले नगरपालिकाका कर्मचारीहरुको हाजिरी इलेक्ट्रोनिक माध्यम र डिभाइसबाट गरिएको साथै सकेसम्म त्यसमा त्रुटी हुन नदिइएको जानकारी गराए । कर्मचारीहरुलाई सेवाग्राहीमैत्री र जनउत्तरदायी भएर काम गर्न निर्देशन दिइएकाले सोही अनुसार सेवा प्रवाह भइरहेको पनि उनले प्रष्ट पारे । कार्यक्रममा नगरको फोहोरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, घर नक्सा पास र मापदण्ड, सडक निर्माण, हरियाली प्रवद्र्धन र सौन्दर्यकरण, दापगाछीमा रहेको भ्यूटावर बनाउने क्रममा स्थानीयवासीको जग्गा सट्टापट्टा र सोधभर्ना गर्ने सम्झौता, कुकुरको व्यवस्थापन, किसानहरुको अनुदान लगायतको विषयमा प्रश्नोत्तर गर्नुका साथै सुझाव समेत दिइएको थियो । कार्यक्रम भिन्न मिडिया एण्ड रिसर्च सेन्टरको सहजीकरण तथा सहजकर्ता बाबुराम निरौलाको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *