समाचार

पाँचथरका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पाँचथर/ शिक्षाको पहुँचलाई अझ सुदृढ बनाउने उद्देश्यसहित पाँचथरको फिदिममा आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरिएको छ । ‘सेवा र विकासका लागि युवा’ को आयोजना तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा फिदिम नगरपालिका–५, चोकमागुस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो ।


आर्थिक कठिनाइका कारण विद्यार्थीको अध्ययन निरन्तरतामा देखिने चुनौतीलाई न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीहरूलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा बृहत् शब्दकोष, क्याप लगायतका सामग्री वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दकुमार तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा प्राज्ञिक व्यक्तित्व तुलसिराम मिश्र प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नयन्त्र तुम्बापो, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव एवं कोशी प्रदेश संगठन सचिव मनिष बन्जाडे, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी परिषद् पाँचथर बहुमुखी क्याम्पसको टोली तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा केवल पाठ्यपुस्तक र कक्षाकोठामा सीमित विषय नभई समान अवसर, संस्कार र भविष्य निर्माणसँग जोडिएको विषय भएको धारणा व्यक्त गरेका थिए । शैक्षिक सामग्रीको अभावका कारण विद्यार्थीको सिकाइ प्रक्रियामा पर्ने असरलाई कम गर्न यस्ता सहयोगात्मक अभियानहरूले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो ।


ग्रामीण क्षेत्र र आर्थिक रूपमा पछाडि परेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यस प्रकारको अभियानले शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूमा अध्ययनप्रतिको प्रेरणा र आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ । सेवा र विकासका लागि युवा तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको यो पहलले शिक्षा क्षेत्रमा सहकार्य र सहयोगको संस्कृतिलाई थप बल पुर्‍याउने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *