समाचार

दमकको ॐ सतासी सहकारीले गर्‍यो पत्रकार दाहालसहित ज्येष्ठ शेयर सदस्यलाई सम्मान

दमक/ झापाको दमक–६ स्थित ॐ सतासी वचत तथा ऋण सहकारी संस्थाले २७ औं स्थापना दिवसमा विभिन्न पेशाकर्मी तथा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सोमबार संस्थाको कार्यालय हातामा औपचारिक कार्यक्रम गरी ज्येष्ठ आवाज पत्रिकाका प्रधान सम्पादक पंकज दाहाल लगायतलाई नगदसहित सम्मान पत्रले सम्मानित एवं पुरस्कृत गरेको हो । पत्रकार दाहाललाई सो सहकारी संस्थाका अध्यक्ष राजेन्द्र दंगाल, ज्येष्ठ शेयर सदस्य टेकबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष राजकुमार श्रेष्ठ, पूर्वअध्यक्षद्वय देवीप्रसाद कँडेलकी धर्मपत्नी बाटुलादेवी कँडेल र देउकुमार लिम्बूकी धर्मपत्नी वेनु लिम्बूले सहकारी संस्थाका तर्फबाट यस्तो सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।


पत्रकार दाहाललाई पूर्वअध्यक्षहरु देवीप्रसाद कँडेल र देउकुमार लिम्बूको स्मृतिमा यस्तो सम्मान र पुरस्कार प्रदान गरिएको हो । दाहाल राजधानी काठमाडौ र दमकमा रहेर विगत ३ दशकदेखि पत्रकारिता पेशामा क्रियाशील रहँदै आएका छन् । सोही क्रमममा सो सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्य पुरुषतर्फ टेकबहादुर श्रेष्ठ र महिला तर्फ शुकमाया राईलाई पनि नगदसहित सम्मान पत्रले सम्मान गरेको छ । कार्यक्रममा वचत र कर्जातर्फ असल कारोबार गर्ने शेयर सदस्यहरु क्रमशः विजयसेन थापा, कल्पना प्रधान, प्रेमराज लिम्बू, रमा राई, अजयकुमार साह र कमला सुवेदी गरी ६ जना तथा विष्णु ताजपुरिया, मानबहादुर कुमाल, रोशा चेम्जोङ र विमला काफ्‌लेलाई पनि मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको छ ।
त्यसैगरी नियमित मासिक वचततर्फ सुस्मिता नेम्वाङलाई सम्मानित गरिएको छ । बाल वचततर्फ भने सुपुना राई, रासिका संग्रौला, लिसारा थकाली र रिहान नेपाललाई सम्मान पत्रले सम्माति गरिएको व्यवस्थापक हेमकुमारी दंगालले जानकारी गराइन् । स्थापना दिवसमा सम्मान पुरस्कारसँगै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यसक्रममा ५० जना भन्दा बढीले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।


ज्येष्ठ शेयर सदस्य टेकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हाल सम्म एक सय २३ पटक रक्तदान गरेर नाम कमाएका पूर्वअध्यक्ष राजकुमार श्रेष्ठले शुभकामना मन्तव्य र कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष राजेन्द्र दंगालले अध्यक्षात्मक मन्तव्य राखेका थिए । उपाध्यक्ष टेकबहादुर चेम्जोङ र व्यवस्थापक हेमकुमारी दंगालले आलोपालो संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सो कार्यक्रमकी संयोजक बसुन्धरा गजुरेलले राखेकी थिइन् । पत्रकारिता तर्फको पुरस्कार भने यसै वर्षदेखि शुरु गरिएको र आगामी वर्षहरुमा निरन्तरता दिइँदै जाने अध्यक्ष दंगालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *