समाचार

नेपाल दुग्ध उत्पादक सहकारीको सदस्य शिक्षा र बिउविजन वितरण

दमक/ झापाको कमल–४ स्थित नेपाल दुग्ध उत्पादक सहकारी संस्थाले शेयर सदस्यहरुका लागि एकदिने सदस्य शिक्षा तालिम दिएको छ । तालिम कार्यक्रममा सहभागी शेयर सदस्यहरुलाई बिउविजनको प्याक समेत वितरण गरिएको छ । स्थानीय जलकन्या मन्दिरको सभाहलमा भएको तालिम कार्यक्रममा २ सय भन्दा बढी शेयर सदस्यहरुको उत्साहजनक सहभागिता रहेको पाइएको छ ।

कार्यक्रममा सहभागीहरुलाई सहकारी संस्था के हो, यसको शुरुवात र विकासक्रम, संचालन प्रकृया र फाइदा, ऋण परिचालन र असुली तथा वचत, लगानी र खर्च साथै सो सहकारी संस्थाको हालको अवस्था र गतिविधिबारे जानकारी गराइएको थियो । सहकारी संस्थाका अध्यक्ष रुपनारायण दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य व्यवस्थापक घनश्याम गौतम, कार्यक्रमको औचित्यका बारेमा शिक्षा उपसमिति संयोजक सरिता सुवेदी गौतम र कार्यक्रम संचालन शिक्षा उपसमिति सदस्य दुर्गाप्रसाद चम्लागाईले गरेका थिए ।

संस्थाको शिक्षा उपसमिति संयोजक सरिता सुवेदी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिका रुपमा सहकारीका संचालक समिति उपाध्यक्ष तुफान राई, सचिव चन्द्रप्रसाद आचार्य, लेखा समिति संयोजक खगेन्द्र भट्टराई, पत्रकार पंकज दाहाल र ज्येष्ठ शेयर सदस्य भक्तिप्रसाद गौतम रहेका थिए । कार्यक्रममा बोल्दै सहकारी संस्थाका अध्यक्ष दाहालले हाल भाडाको कोठामा कार्य संचालन भइरहेको तर अबसंस्थाको नाममा ल्याइएको ३ कठ्ठा ७ धुर जग्गामा चाँडैनै भवन संरचना निर्माण गरी त्यहीँबाट कारोबार संचालन गर्ने तयारी रहेको जानकारी गराए । उनले पशुपालक दुग्ध किसानहरुका लागि दूध संकलन केन्द्र राम्ररी संचालन भइरहेको हुँदा सबै शेयर सदस्यहरुलाई घरमा उत्पादन हुने दूधको कारोबार सहकारी संस्थामा गर्न आग्रह गरे ।

कार्यक्रमको प्रमुख अतिथि रहेका अध्यक्ष दाहालले १ घर १ पशु बिमा कार्यक्रम संचालन गरिएको, मल, बिउबिजन, विषादी र पशु आहार विक्रीको कारोबार रहेको साथै वचत र ऋणको कारोबारमा पनि धेरै किसिमका सेवा सुविधाहरु सहकारी संस्थाले प्रदान गर्दै आएको हुँदा सकेको फाइदा लिन सहभागी शेयर सदस्यहरुलाई अन्‌ुरोध गरे । त्यस्तै बाली बिमाका लागि पनि आफूहरुले कमल गाउँपालिकासँग सहकार्य गरेर किसानहरुलाई सकेको सेवा प्रदान गर्न समन्वय गरिरहेको जानकारी गराए । तालिम कार्यक्रममा सहकारी संस्थाका सचिव चन्द्रप्रसाद आचार्य, लेखा संयोजक खगेन्द्र भट्टराई र शिक्षा उपसमिति सदस्य दुर्गाप्रसाद चम्लागाईले सहजीकरण गरेका थिए । कार्यक्रमको अन्त्यमा सहभागीका तर्फबाट पत्रकार पंकज दाहालले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *