समाचार

कोशी प्रदेश सभामुख विष्टको बजेटबाट १ करोडको सडक निर्माण

दमक/ कोशी प्रदेश प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले आफ्‌नो भागमा छुट्टिएको पूर्वाधार तर्फको बजेटबाट झापाको दमक–४ मा करिब ५ सय मिटर हिलाम्ये बाटोलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने काममा उपयोग गरेका छन् । कच्ची बाटोलाई ग्राभेल र त्यसपछि कालोपत्रे गर्दा सम्म सभामुखको नाममा विनियोजन भएको बजेटबाट १ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । सो वडाको आदर्श मंगल टोलमा रहेको बोहोरा प्रतिष्ठान शिवालय मन्दिरदेखि दक्षिण भुत्रे खोला सम्म हालै निर्माण सम्पन्न भएको सो सडकको सभामुख विष्ट र दमक नगरपालिका प्रमुख राम कुमार थापाले रामनवमीको अवसरमा शुक्रबार विहान रिवन काटेर उद्घाटन गरे ।


सो बाटो कालोपत्रे गर्ने क्रममा खण्ड खण्ड गरी पहिलो वर्ष २५, दोश्रो वर्ष ३० र तेश्रो वर्ष ५० लाख बजेट विनियोजन भइ खर्च भएको हो । हिलाम्ये अवस्था देखि नगरवासीलाई ओभानो कालोपत्रे बाटोमा हिंडाउने बनाउन तीन वर्ष लागेको छ, यो नगरवासीले खुशी र सुखी भएको अनुभूति गर्ने अवसर हो, दमक नगर प्रमुख थापाले कालोपत्रे सडक उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भने । सभामुख विष्टले सानो सानो प्रयासबाट पनि ठूलो सुख र विकास निर्माणको काम हुन सक्ने यस कालोपत्रे सडकबाट प्रमाणित भएको बताए । सो सडक २० फुट चौडाइको रहेको छ ।


‘नगरपालिकामा आफूहरुले साना तथा टुक्रे योजना सम्पन्न गर्दा ति धेरै ठाउँहरुमा हुँदा पनि नगरवासीलाई ठूलो राहत मिलेको महशूस हुन्छ । स्थानीय बासिन्दामा नगरपालिकाले पनि संघ र प्रदेशबाट बजेट ल्याउन विभिन्न पहलकदमी र प्रयासहरु गरिरहेको छ भन्ने यसबाट प्रष्ट हुन्छ ।’ नगर प्रमुख थापाले भने । कालोपत्रे सडक उद्घाटन कार्यक्रमको अध्यक्षता आदर्श मंगल टोल विकास संस्थाका अध्यक्ष प्रकाश चापगाई र कार्यक्रमको संचालन सचिव हरि प्रसाद लामिछानेले गरेका थिए । स्वागत मन्तव्य राख्दै संस्थाकी सदस्य तथा स्थानीय अगुवा महिला सुमता भट्टराई अधिकारीले कालोपत्रे सडक निर्माणबाट खुशी लागेको र जनप्रतिनिधि भएको महशूस भएको प्रतिक्रिया दिइन् । कालोपत्रे सडकको उद्घाटन पण्डित रामप्रसाद बराल र अच्युत अर्यालले स्वस्ति वाचन गरेर गरिएको थियो । सभामुख विष्टको सांसद विकास कोषमा चालू आर्थिक वर्षमा भने २ करोड ५० लाख बजेट विनियोजन भएको उनले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *