कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ मा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर बारे सचेतना र परीक्षण शिविर (क्याम्प) संचालन गरिएको छ । बुधबार वडा कार्यालय हातामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीय आगन्तुक महिलाहरुलाई सहभागी गराएर एकदिने सचेतना र शिविर संचालन गरिएको हो ।
शिविरमा १०५ जना महिलाहरुले पाठेघर र स्तन क्यान्सरको पूर्व परीक्षण अर्थात् स्क्रीनिङ गराएका छन् । परीक्षण गराएका मध्ये १० जनामा भीआइए पोजेटिभ देखिएको छ । उनीहरुलाई पाठेघरको प्याप परीक्षण र डाक्टरी परीक्षण विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा निःशुल्क गर्ने व्यवस्था गरिएको सो अस्पतालका कार्यक्रम संयोजक गोविन्द खनालले जानकारी गराए । परीक्षण गराएकाहरुलाई चिकित्सकको जाँच र आवश्यकताका आधारमा निःशुल्क औषधी समेत वितरण गरिएको कमल–५ वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्र प्रमुख तथा नर्सिङ्ग स्टाफ सविता गुरुङले जानकारी गराइन् ।

सचेतना प्रदान र क्यान्सर परीक्षण पूर्वाञ्चल क्यान्सर अस्पतालकी विभागीय प्रमुख स्त्री तथा प्रसूति रोग विशेषज्ञ अन्कोलोजिष्ट डा. ज्योति भाजु लामाले गरेकी थिइन् । सो कार्यमा डा. लामालाई सो अस्पतालबाट आएको स्वास्थ्यकर्मीहरुको टोली र वडाको आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरुले सहयोग गरेका थिए । त्यसक्रममा आवश्यकताका आधारमा महिलाहरुको पाठेघरको पानीको जाँच समेत गरिएको थियो ।
एन–सेलको सहकार्यमा गरिएको सो कार्यक्रमको आयोजक भने रोट्र्याक्ट क्लब अफ विर्तामोड रहेको थियो भने प्राविधिक पार्टनर पूर्वाञ्चल क्यान्सर अस्पताल रहेको थियो । जनमानसमा क्यान्सर रोग बारे रहेको भ्रम निवारण गर्न र रोकथामका लागि सचेतना जगाउने साथै लक्षण देखिएकालाई सहज उपचार प्रदान गर्ने उद्देश्यले यस्तो सचेतना र शिविर आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको उद्घाटनमा कमल–५ का कार्यवाहक वडाध्यक्ष चुरुङ्गहाङ लावती र वडा सदस्य ओम कुमार प्रधानले विशेष उपस्थिति सहित शुभकामना व्यक्त गरेको वडा सचिव अमृत कुमार साहले बताए ।

