समाचार

झापाको कमल–५ का विपन्न महिलाहरुलाई ड्राइभिङ तालिम

कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ ले विपन्न ३० जना महिलाहरुलाई निःशुल्क सवारी चालक (ड्राइभिङ) तालिम दिन थालेको छ । तालिम कार्यक्रमको बुधबार कमल–५ का वडाध्यक्ष लाल बहादुर विष्ट (एलबी), कार्यवाहक वडाध्यक्ष चुरुङ्गहाङ लावती र वडा सदस्य ओम कुमार प्रधानले संयुक्त रुपमा व्यानर वाचन गरेर शुभारम्भ गरे । तालिमको सैद्धान्तिक कक्षा वडा कार्यालयको कक्षमा संचालन भइरहेको छ भने प्रयोगात्मक कार्य फिल्डमा गरिने भएको छ ।
तालिमका लागि फाल्गुनन्द ड्राइभिङ ट्रेनिङ सेन्टर र नेम्वाङ ड्राइभिङ ट्रेनिङ सेन्टर दमकले प्राविधिक रुपमा सहजीकरण गरिरहेका छन् । तालिममा वडाबाट प्राप्त निवेदनका आधारमा छनौट भएका विपन्न ३० जना स्थानीय महिलाहरु सहभागी रहेको वडा सचिव अमृत कुमार साहले जानकारी गराए । तालिम ३० दिनको रहेको छ । महिलाहरुले पनि सवारी चालकको काम गर्न सक्छन् भन्ने गरी सीप र क्षमता विकास गराई उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन, स्वरोजगार या रोजगार बनाउने उद्देश्यले यस्तो तालिम संचालन गरिएको वडाध्यक्ष विष्टले बताए ।


कार्यवाहक वडाध्यक्ष लावतीले स्थानीय महिलाहरुको माग र आवश्यकताका आधारमा यथोचित बजेट छुट्याई सवारी चालक तालिम संचालन गरिएको प्रष्ट पारे । सहभागी महिलाहरुले भने सवारी चालकको रुपमा काम गर्न इच्छुक भएकाले तालिममा सहभागी भएको र यसबाट प्राप्त ज्ञान र सीपलाई जीवन निर्वाहका लागि पेशाका रुपमा अपनाउने लक्ष्य रहेको धारणा राखे । तालिममा सिकेको ज्ञान र सीपलाई खेर जान नदिने उनीहरुको प्रतिवद्धता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *