
सुरुङ्गा/ ज्येष्ठ नागरिक संघ कनकाई नगरपालिका झापाले पालिकाका सबै वडामा पुगेर ८५ वर्षमाथिका ज्येष्ठ माता पिताहरुलाई तातो पानी राख्न थर्मस र मिश्री दिएर सम्मान गरिरहेको छ । ति ज्येष्ठहरुलाई खादा र पहेंलो टीका लगाएर सुस्वास्थ्य एवं दीर्घायुको कामना समेत गर्ने अभियाननै चलाइएको छ । अभियानका लागि संघले ३ लाख रुपैयाँ बजेट छुट्याएर काम गरिरहेको संघको अध्यक्ष शम्भुप्रसाद पोखरेलले जानकारी गराएका छन् ।
यसैक्रममा मंगलबार मात्र कनकाई नगरपालिका वडा नं. ३ मा रहेको ज्येष्ठ नागरिक चौतारी तथा दिवा सेवा केन्द्रमा ६७ जना ज्येष्ठ माता पिताहरुलाई यसैगरी सम्मान गरियो । यस्तो सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेको कनकाई नगरपालिका–३ का वडाध्यक्ष युवराज चौंलागाई, विशिष्ट अतिथि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रीय सदस्य तथा पत्रकार पंकज दाहाल, संघको सल्लाहकार संयोजक तथा संस्थापक अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी, कनकाई सामुदायिक वनका अध्यक्ष खेमप्रसाद ओली र संघका वर्तमान अध्यक्ष पोखरेलले संयुक्त रुपमा गरेका हुन् । थर्मस र मिश्री पाउँदा सहभागी सम्मानित ज्येष्ठ नागरिकहरुमा खुशीको भाव देखिएको थियो ।
सम्मान कार्यक्रम अघि सो ज्येष्ठ चौतारीमा नियमित भजन कीर्तनको कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य तथा पत्रकार दाहालले कुनै खास विशेष दिन मात्र नभएर ज्येष्ठ नागरिकहरुलाई घर परिवार र समाजका बोली र व्यवहारले दिनहुँ सम्मान गरेमात्र साँचो अर्थको सम्मान हुने बताए । दाहालले पछिल्लो समयमा सन्तानहरु उच्च शिक्षा तथा रोजगारीका लागि विदेश या स्वदेशमा टाढा रहने भएकाले ज्येष्ठ नागरिकहरुले एक्लो, निरश र स्याहाविहीन अवस्थामा जीवन विताइरहनुपरेको हुँदा त्यसको उचित व्यवस्थापनका लागि राज्य र सरकारले यथोचित पहलकदमी लिनुपर्ने धारणा राखे ।

प्रमुख अतिथि कनकाई न.पा.–३ का वडाध्यक्ष चौंलागाईले भने स्थानीय सरकारको रुपमा वडा र नगरपालिकाले सबै वडाहरुमा ज्येष्ठ नागरिक चौतारी र दिवा सेवा केन्द्र स्थापना र संचालन गर्न सकेको आर्थिक सहयोग गरिरहेको बताए । वडाध्यक्ष चौंलागाईले आगामी दिनमा पनि बेलैमा प्रस्ताव पेश गरे सकेको आर्थिक सहयोग गर्न आफूहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरे । कनकाई सामुदायिक वनका अध्यक्ष खेमप्रसाद ओलीले अहिले ज्येष्ठ नागरिकलाई सम्मान गरे भावी पुस्ताले पनि त्यसबाट सिकेर अरुलाई सम्मान गर्ने र आफूहरु पनि ज्येष्ठ नागरिकको उमेरमा पुगेपछि सम्मान प्राप्त गर्ने संस्कारको विकास हुने बताए । संघका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चम्पा सुवेदी खनालले स्वागत मन्तव्य र सह–सचिव विनोद दाहालले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा कनकाई न.पा.–९ का संघको वडा समिति संयोजक धनपति मैनाली र वडा ३ समितिका संयोजक डिल्लीराम पाठकले शुभकामना मन्तव्य राखेका थिए भने सम्मानित ज्येष्ठ नागरिकका तर्फबाट संस्थापक कुलप्रसाद विमली र दिवा सेवा केन्द्र संयोजक भवानीशंकर चुडालले आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा कनकाई–३ का वडा सदस्य कृष्णमाया भुजेल र अनिल गोयलको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको शुरुमा स्थानीय ज्येष्ठ नागरिक गुरुभक्त सिक्देल र खगेन्द्रप्रसाद निरौलाले स्वस्ती वाचन गरेका थिए । सम्मान कार्यक्रमका लागि स्थानीय मनकारी व्यक्तित्व चित्रा श्रेष्ठले चिया खाजा सौजन्य गरेकी थिइन् । कनकाई नगरपालिकाका ९ वटै वडामा ज्येष्ठ नागरिक चौतारी तथा दिवा सेवा केन्द्रहरु रहेका छन् । यस्तो सम्मान कनकाईका २, ३, ४, ६ र ८ नं. वडामा सम्पन्न भइसकेको छ भने चाँडैनै वडा नं. १, ५, ७ र ९ मा पनि आयोजना गरिने कार्यक्रम तय भएको संघले जनाएको छ ।

