समाचार

दमकमा १६ औं नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, ३२ विद्यालय सहभागी

दमक/ झापाको दमकमा नगर स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आइतबार देखि शुरु भएको छ । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर देशव्यापी रुपमा गरिँदै आएको यो प्रतियोगिता दमकमा पनि शुरु भएको हो । प्रतियोगितामा दमक नगर भरिका निजी र सामुदायिक गरी ३२ वटा विद्यालयका सहभागिता रहेको छ ।

दमक नगरपालिकाको आयोजनामा यही पुस ३० गते गरी ४ दिन सम्म संचालन हुने यो प्रतियोगिता दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको छ । प्रतियोगिताको आइतबार एक औपचारिक कार्यक्रमका बीच दमक नगर प्रमुख राम कुमार थापाले पानसमा बत्ती बालेर उद्घाटन गरे । त्यसपछि उद्घाटन मन्तव्य राख्दै नगर प्रमुख थापाले प्रतियोगिताले विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा सघाउ पुग्ने बताए । यो प्रतियोगिता माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच हुने एउटा खेल पर्व पनि भएको उनको भनाई थियो ।

प्रतियोगितामा भलिबल, एथ्लेटिक्समा (रनिङ्ग, रिले दौड, हाइजम्प, लङजम्प र सटपुट), कबड्डी, तेक्वान्दो (आइटीएफ र डब्लुटीएफ) र कराते गरी ५ खेलहरु समावेश रहेको दमक नगरपालिका शिक्षा शाखा अधिकृत सोमनाथ गुरागाईले जानकारी गराए । खेलमा छात्रा र छात्र दुवै समूहका बीच प्रतिष्पर्धा हुने जनाइएको छ । खेल प्रतियोगिताको उद्घाटन कार्यक्रमको औपचारिक समारोहमा प्रमुख अतिथि नगर प्रमुख थापा लगायत अन्य अतिथिहरुले प्रथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण र पुष्पगुच्छा समेत अर्पण गरेका थिए । प्रतियोगिताका विजेता टिम र खेलाडीहरुलाई मेडल, शिल्ड र प्रमाण पत्र दिइने दमक नगरपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रतियोगिता यही पुस ३० गते विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम गरी समापन गरिने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा दमक नगर शिक्षा संयोजक तथा दमक–९ का वडाध्यक्ष कुवेर भट्टराईले खेल प्रतियोगिताले खेलाडी विद्यार्थीहरुमा हौसला बढाउँछ भन्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । स्वागत मन्तव्य दमक नगर शिक्षा अधिकृत सोमनाथ गुरागाई र कार्यक्रम संचालन नगरपालिका शिक्षा शाखा प्रमुख प्रविण खड्काले गरेका थिए । कार्यक्रमको अध्यक्षता दमक नगर खेलकुद समिति अध्यक्ष भिमराज चौंलागाईले गरेका थिए । दमक नगरपालिकाले यस्तो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *