दमक/ अग्रज पत्रकार गञ्जबहादुर दाहालको पत्रकारिता यात्राको ५० औं वर्ष पूरा भएको अवसर तथा पूर्वसन्देश दैनिकको २१ औं वार्षिकोत्सव एक औपचारिक र सभ्य कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएकाले यो क्षेत्र मर्यादित र जिम्मेवार हुनुपर्ने बताए । अध्यक्ष शर्माले सूचनाको हक मानवअधिकार सँग समेत जोडिेन भएकाले सही र सत्य तथ्य समाचार सम्प्रेसण गर्नु अहिलेको आवश्यकता भएको औंल्याए । उनले देशको विकास र समृद्धिका लागि पत्रकारिता क्षेत्र र आम संचारको माध्यमको पनि ठूलो भूमिका हुने प्रष्ट पारे ।
कार्यक्रममा विेशेष अतिथि रहेका प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पछिल्लो समय दर्ता नभएका संचारमाध्यम र सामाजिक सञ्जालबाट हुने गरेको अमर्यादित र अपुष्ट समाचारको खबरले सिंगो पत्रकार जगतलाई दूषित बनाइरहेको बताए । उनले त्यस्तो अवस्थामा जिम्मेवार पत्रकारिता र पत्रकारहरुलाई प्रश्रय दिइने र दूषित तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गर्नेहरुलाई अनुगमन र नियमन गरेर कारवाहीको दायरामा ल्याइने काम भइरहेको जानकारी गराए । प्रेस काउन्सिल नेपालले समग्र पत्रकारिता क्षेत्रको नियमन र अनुगमन गर्ने काम गर्दै आएको छ । कार्यक्रममा अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालबीचको अन्तर छुट्याउन मिडिया साक्षरता संचालन गर्नुपर्ने समय आएको बताए ।

कार्यक्रममा पूर्वसन्देश दैनिकलाई स्थापनाकाल र विभिन्न समयमा योगदान पुर्याउने पत्रकार, लेखक तथा प्राविधिकहरुलाई प्रशंसा पत्र र खादाले सम्मान गरिएको थियो । स्थापनाकाल देखिका कम्प्युटर प्राविधिक तथा ले–आउट डिजाइनर सुरेन बस्नेतलाई भने नगद २१ हजार सहित प्रशंसा पत्रले सम्मानित तथा पुरस्कृत गरिएको थियो । अग्रज पत्रकार तथा पूर्वसन्देश दैनिकका प्रकाशक/ सम्पादक गञ्जबहादुर दाहालको पत्रकारिता यात्रा र जीवनीबारे पत्रकार विमल लामिछानेले प्रकाश पारेका थिए ।, कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पत्रकारिताको असल अभ्यासका लागि स्थानीय पत्रकार र संचारमाध्यमलाई सकेको सहयोग गर्ने र गरिरहेको जानकारी गराए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले उद्योगी व्यवसायी र पत्रकारिता क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको प्रष्ट पार्दै स्थानीय पत्रपत्रिका र मिडियाको प्रवद्र्धनका लागि सकेको सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यक्रमको सभापतित्व गरेको अग्रज पत्रकार दाहालले ५० वर्षसम्म निरन्तर एउटै क्षेत्रमा लागेर पत्रकारिता गर्दा धेरै दुःख सुखका अनुभव र अनुभूतिहरु गर्न पाएको बताए । त्यसबीचमा अनेकौं उतारचढाव र चुनौतीहरुको पनि सामना गर्नुपरेको अनुभव आफूसँग रहेको उनको भनाई थियो । दमक उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा स्वागत मन्तव्य पत्रकार पंकज दाहाल र कार्यक्रम संचालन कवि एवं साहित्यकार धनकुटे कान्छाले गरेका थिए ।

