दमक/ रोटरी क्लब अफ दमकले चालू आर्थिक वर्षमा संस्थाले गर्ने सामाजिक सेवाका कामहरुको कार्ययोजना सार्वजनिक गरेको छ । विहीबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरेर रोटरीले मासिक रुपमा गरिने सामाजिक सेवाका कामहरुको वार्षिक सूचीनै सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको कार्ययोजनाअनुसार जुलाईलाई मातृ तथा बालस्वास्थ्य महिनाका रुपमा लिने र रोटरी ह्वील स्थापना, २०० विरुवा रोप्ने र सर्पदंश सम्बन्धी जागरुकता परियोजनाको कार्यक्रम गरिने भएको छ । अगष्टमा दन्त तथा आँखा स्वास्थ्य शिविर, सदस्यता विस्तार, अन्तर संगठन बैठक र छलफल, सेप्टेम्बरमा आधारभूत शिक्षा र साक्षरता अन्तर्गत डेस्क बेन्च ( दमक वडा नं. ४) , छात्रवृत्ति, साईकल र खाना वितरण, अटिजमको बारेमा जागरुकता, वडामा कम्युटर ल्याव स्थापना, अक्टोबरमा आर्थिक र सामुदायिक स्वास्थ्य अन्तर्गत ग्रामीण महिलाहरुलाई अण्डा र सहयोग, सिलाई मेसिन वितरण, दशैंमा लुगा वितरणका सथौ पोलियोविरुद्ध र्याली गर्ने सो कार्ययोजनामा उल्लेख गरिएको छ । त्यस्तै नोभेम्वर महिनामा व्याडमिन्टन प्रतियोगिता, डिसेम्बरमा पाठेघर स्वास्थ्य शिविर, क्यान्सर परीक्षण, कृत्रिम अंग वितरण, अन्तर फुटसल प्रतियोगिता, दृष्टिविहीनलाई सेतो छडी र डायलाइसिस शिविर, जनवरीमा व्यवसाय, योग तथा डिजिटल तालिम, न्यानो लुगा वितरण, फेब्रुअरीमा घरेलु हिंसाबारे सचेतना, मार्चमा पानी सरसफाई र सरसफाईको कार्य, फोहोरमैला व्यवस्थापन, शौचालय परियोजना, हात धुने जागरुकता, पानी फिल्टरेशन प्लान्ट, अप्रिलमा पृथ्वी बचाउनुहोस्, स्थानीय स्थलहरुको भ्रमण, विद्युतीय प्रेरणा र आमा सक्नुहुन्छ कार्यक्रम, मे मा रोट्र्याक्ट अन्तरक्रिया, आँखा शिविर ( १० जनाको मोतीविन्दुको शल्यक्रिया) र जुन महिनामा फेलोसिप महिनाका रुपमा विभिन्न कार्यहरु गर्ने जानकारी गराइएको छ ।

यि सबै परियोजना र कार्यहरुका लागि २८ लाख रुपैयाँ बजेट खर्च हुने र त्यसको व्यवस्था रोटरीयन सदस्यहरुबाटै स्वैच्कि रुपमा गरिएको पनि त्यस अवसरमा जानकारी गराइयो । रोटरी क्लब अफ दमक वर्ष २०२५–२६ का अध्यक्ष केशव कुमार अग्रवालले क्लबले शान्ति र द्वन्द्व समाधान, रोग निवारण र उपचार, सफा पान, सरसफाइ र स्वच्छता, मातृ तथा बाल स्वास्थ्य, शिक्षा र साक्षरता, आर्थिक विकास र समुदाय सशक्तीकरण तथा वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको जानकारी गराए । रोटरीले दमकको लाईफ लाईन अस्पतालमा मिर्गौला रोगीहरुका लागि डायलासीय मेशिनको समेत व्यवस्था गरिदिएको र त्यसका लागि सेवा प्रवाहमा देखिएका केही समस्याहरुको उचित र आवश्यक व्यवस्थापन सुधारको कार्य पनि भइरहेको निवर्तमान अध्यक्ष विक्रम कुमार साहले बताए ।
पत्रकारहरुलाई रोटरीका पूर्व अध्यक्ष तथा सामाजिक विकास कार्यक्रम संयोजक सन्दीप चापागाई (दीपु) ले सार्वजनिक गरिएको कार्ययोजनाको कार्यान्वयनका क्रममा स्थानीय तहका सरकारहरुसँग पनि सहकार्य, सहयोग र समन्वय गरिने प्रष्ट पारे । रोट्र्याक्ट दमकको अध्यक्ष दिवाकर पाँचकोटीले सामाजिक सेवाका कार्यहरु समुदाय सम्म पुग्नेगरी वर्षभरिनै गरिने बताए । सन् २०११ मा स्थपना भएको रोटरी क्लब अफ दमकमा हाल ४४ जना सदस्यहरु आवद्ध रहेको सचिव अम्बिका न्यौपानेले जानकारी दिइन् ।
