समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिए ज्येष्ठ नागरिक महासंघका माग पूरा गर्न सक्दो सहयोग गर्ने वचन

ललितपुर/ पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ नागरिकहरुको हक, हित र अधिकार प्राप्तीका लागि राखिएका जायज मागहरु पूरा गर्ने सक्दो सहयोग गर्ने भनाई राखेका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रीय टोलीलाई अध्यक्ष प्रचण्डले यस्तो वचन दिएका हुन् । विहीबार प्रचण्ड निवास ललितपुरको खुमलटार पुगेको महासंघका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ नेतृत्वको टोलीको कुरा सुनेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया र आश्वासन दिएको बताइएको छ ।
महासंघले भेटघाटका क्रममा अध्यक्ष प्रचण्डलाई आफ्‌नो १७ बुँदे मागहरु उल्लेख भएको जानकारी तथा कार्यान्वयनका लागि भन्ने ध्यानाकर्षण पत्र वाचन गरेर सुनाएको थियो । महासंघका पदाधिकारीहरूले भेटका क्रममा सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यातायात भाडामा ५० प्रतिशत छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, उमेर र अवस्थाका आधारमा ज्येष्ठ नागरिकहरको वर्गीकरणका गरी त्यसका आधारमा सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखेका थिए । खासगरी हाल देशमा २५०० भन्दा बढी ज्येष्ठ नागरिक नागरिकताविहीन अवस्थामा रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व र पहलकदमी लिइदिन महासंघले अनुरोध गरेको छ ।

महासंघका मागहरूलाई गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले महासंघलाई आश्वस्त पार्दै ‘तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसंगत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी मागहरूलाई पूरा गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्ने छ ।’ भनेर सम्बोधन गरेका थिए । महासंघले विद्यमान अवस्थामा रहेको ज्येष्ठ नागरिक ऐन २०६३ र ज्येष्ठ नागरिक नियमावली २०६५ को प्रभावकारी र पूर्ण कार्यान्वयन गर्न भन्दै पटक पटक आवाज उठाउँदै आएको छ । त्यसबाहेक उनीहरुको अवस्थाको विचार गरी सेवा, सुविधा र हितका लागि विभिन्न मागहरु अघि सार्दै आएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न पुगेको महासंघको टोलीमा प्रथम उपाध्यक्ष शारदा देवी चन्द, उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, कोषाध्यक्ष केदारनाथ तिमिल्सिना, केन्द्रीय सदस्यहरु डा. गोपाल खनाल, वासुदेव शर्मा पण्डित, लक्ष्मीदेवी श्रेष्ठ, विवेन्द्रभक्त प्रधानाङ्ग लगायतका पदाधिकारी तथा ज्येष्ठ नागरिक अभियन्ताहरु रहेका थिए ।
महासंघको टोलीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व उप–प्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नोवल किशोर साह सुडी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतलाई भेटेर आफ्‌ना कुराहरु राखिसकेको छ । चाँडैनै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीलाई पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *