काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागकिको हक, हित र अधिकार प्राप्तीका लागि भएका ऐन नियम कार्यान्वयन र थप सेवा सुविधाका विषयमा सम्बन्धित मन्त्रालयहरुमा पत्र पठाएर कार्य गर्न निर्देशन दिने वचनवद्धता व्यक्त गरेका छन् । उनले बुधबार शीतल निवासमा भेटघाटका लागि गएको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रीय टोलीलाई यस्तो वचनवद्धता दिएका हुन् ।
महासंघको केन्द्रीय कार्यसमिति अध्यक्ष सूर्य प्रसाद श्रेष्ठको नेतृत्वमा राष्ट्रपति निवास पुगेको टोलीले आफ्नो मागपत्र सहित ज्येष्ठ नागरिकको अवस्था र गर्नुपर्ने कामका बारेमा राज्य र सरकारलाई घच्घच्याएको जानकारी र कार्यान्वयनको पत्र बुझाएको थियो । सो पत्रमा भएका कुराहरु ध्यानपूर्वक सुनेपछि राष्ट्रपति पौडेलले सो टोलीलाई आफू पनि ज्येष्ठ नागरिक भएको र उनीहरुको हक, हित र अधिकारको कुरा जायज मागहरुका सन्दर्भमा उचित रहेको भन्दै त्यसका लागि सरकार र सम्बन्धित मन्त्रालयमा निर्देशन सहितको पत्र पठाउने प्रतिक्रिया दिएको बताइएको छ ।
महासंघको टोलीमा केन्द्रीय अध्यक्ष श्रेष्ठ, प्रथम उपाध्यक्ष शारदा देवी चन्द, कोषाध्यक्ष केदारनाथ तिमिल्सिना, केन्द्रीय सदस्यहरु डा. गोपाल खनाल, रमेश कुमार दत्त, विवेन्द्र भक्त प्रधानाङ्ग, वासुदेव शर्मा पण्डित, लक्ष्मी देवी श्रेष्ठ, लेखा संयोजक देवी प्रसाद देवकोटा लगायतका ज्येष्ठ नागरिक अभियन्ताहरु सहभागी रहेका थिए । महासंघको केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आएपछि सरकार र प्रमुख राजनीतिक दलका प्रमुख व्यक्तित्वहरुका साथै उच्च प्रशासनिक नेतृत्वसँगको भेटघाटलाई तीव्र बनाएको छ । यसअघि महासंघको टोलीले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र सोही पार्टीका चर्चित युवा नेता ज्ञानेन्द्र शाही, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी र सोही मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतलाई भेटेर आफ्ना कुराहरु राखिसकेको छ ।

अब यसपछि महासंघको नयाँ नेतृत्वले प्रधानमन्त्री के.पी. शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्दं्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतलाई भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ । महासंघको यो सक्रियतालाई विभिन्न जिल्लाको ज्येष्ठ नागरिक अभियन्ता र ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाहरुले सकारात्मक रुपमा लिएका छन् । सुर्खेतका प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले त महासंघको नयाँ नेतृत्वको सक्रियता र गतिविधिले देशभरका ज्येष्ठ नागरिकहरुमा नयाँ आशा पलाएको भनेर प्रतिक्रिया दिएका छन् । तर यो सक्रियतालाई निरन्तरता दिनुपर्ने र यसो गरेमा मात्र समग्र ज्येष्ठ नागरिकहरुले राज्य र सरकारबाट सहज, सम्मानित र मर्यादित जीवन यापनका लागि केही सेवा, सुविधा र लाभ प्राप्त गर्न सक्ने अपेक्षा कतिपय ज्येष्ठ नागरिकहरुले गरेका छन् ।


