समाचार

ज्येष्ठ नागरिक महासंघको टोलीले भेट्यो काँग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनलाई

काठमाडौं/ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रीय टोलीले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई देउवा निवास बूढानिलकण्ठमा भेटेर ज्येष्ठ नागरिकहरुका विभिन्न मागका सम्बन्धमा जानकारी गराएको छ । महासंघले त्यस अवसरमा ज्येष्ठ नागरिक ऐन २०६३ र ज्येष्ठ नागरिक नियमावली २०६५ को पूर्ण कार्यान्वयनका लागि आवश्यक पहकदमी गरिदिन पनि आग्रह गरेको छ । टोलीमा महासंघका केन्द्रीय अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष छत्रबहादुर प्रधान, प्रथम उपाध्यक्ष शारदा देवी चन्द, महासचिव मोहनलाल श्रेष्ठ, कोषाध्यक्ष केदारनाथ तिमिल्सिनाको सहभागिता रहेको थियो । महासंघका केन्द्रीय सदस्यहरु क्रमश : डा. गोपाल खनाल, रमेश कुमार दत्त, पंकज दाहाल, वासुदेव शर्मा पण्डित, ओम प्रसाद ढकाल र लक्ष्मी देवी श्रेष्ठको पनि त्यस टोलीमा सहभागिता रहेको थियो ।


भेटका अवसरमा महासंघका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ र निवर्तमान अध्यक्ष छत्रबहादुर प्रधानले ज्येष्ठ नागरिकको अवस्था, महासंघका मागसहितका जानकारी र भएका कानुन कार्यान्वयनका लागि सभापति देउवा समक्ष आफ्‌ना कुराहरु प्रष्ट सँग राख्नुभएको थियो । कोषाध्यक्ष केदारनाथ तिमिल्सिनाले महासंघको तर्फबाट जानकारी र कार्यान्यवनका लागि लेखिएको पत्र पढेर सुनाउनुभएको थियो । प्रतिक्रियामा पूर्वप्रधानमन्त्री देउवाले महासंघका मागहरु प्रति चासो राख्दै जायज मागहरुमा सकेको सयहोग गर्ने र सरकारका सम्बन्धित मन्त्रालयका साथै निकायहरुमा भनिदिने वचन दिनुभएको थियो ।

त्यसैगरी महासंघको केन्द्रीय टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट गरेको छ । भेटघाटका क्रममा महसंघले ज्येष्ठ नागरिकको हक, हित र अधिकारीका सन्दर्भमा उठाएका माग र विभिन्न सवालहरुका बारेमा जानकारी गराएको छ । महासंघका केन्द्रीय अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष छत्रबहादुर प्रधान, पं्रथम उपाध्यक्ष शारदा देवी चन्द र महासचिव मोहनलाल श्रेष्ठले राज्य र सरकारले गर्नुपर्ने कामहरुका बारेमा जानकारी गराउनुभएको थियो ।


टोलीमा महासंघका केन्द्रीय कोषाध्यक्ष केदारनाथ तिमिल्सिना, केन्द्रीय सदस्यहरु क्रमश : डा. गोपाल खनाल, रमेश कुमार दत्त, पंकज दाहाल, वासुदेव शर्मा पण्डित र लक्ष्मीदेवी श्रेष्ठ तथा लेखा समिति संयोजक देवी प्रसाद देवकोटा पनि भेटघाटमा सरिक हुनुहुन्थ्यो । महासंघको कुरा सुनेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महासंघका जायज माग र आग्रह पूरा गर्न सम्बन्धित निकायमा कुरा राखिदिने र संघीय संसदमा पनि कुरा उठाउने बताउनुभएको थियो । सोही क्रममा महासंघको टोलीले राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्य रहनुभएका साँसद ज्ञानेन्द्रं शाहीलाई पनि भेटेर आफ्‌ना कुराहरु राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *