
ललितपुर/ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ केन्द्रीय कार्यसमितिको दोश्रो बैठक ललितपुरको शंखमूलस्थित केन्द्रीय कार्यालयमा हालै सम्पन्न भएको छ । बैठकले महासंघको त्रिवर्षीय कार्ययोजना तयार गरी पारित समेत गरेको छ । जसमा ज्येष्ठ नागरिकहरुले वर्षैपिच्छे मनाउने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, अल्जाईमर रोगविरुद्धको दिवस तथा ज्येष्ठ नागरिकहरुमाथि हुने दुर्व्यवहार विरुद्धको दिवस मनाउने कुरा पनि समेटिएको छ ।
सो कार्ययोजनामा देशका ७ वटै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी तथा कार्यक्रम गर्नेदेखि वडा तहसम्म संगठन विस्तार, अन्तरपुस्ता दूरी पहिचान र समस्या समाधानको उपाय, घरदैलोमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न विशेष पहल गर्ने, स्याहारकर्ता तालिम संचालन गर्ने, माध्यमिक तहदेखि उच्च शिक्षा सम्मको पाठ्यक्रममा नैतिक तथा बुढ्यौली शिक्षा पढाउने व्यवस्थाका लागि पहल गर्ने, ज्येष्ठ नागरिकमैत्री संरचना बनाउने व्यवस्थाको नीतिगत व्यवस्था गर्न गराउन पहल गर्ने, ज्येष्ठ नागरिक सम्बन्धी सूचना तथा तथ्यांक संकलन गर्ने, सार्वजनिक सवारीका साधनमा यात्रा गर्दा ५० प्रतिशत छूटको कानुनी व्यवस्था कार्यान्वयन गर्न लगाउने लगायतका विषयवस्तुहरु समेटिएका छन् ।

त्यस्तै अंश लिइसकेका छोराबुहारी तथा छोरीहरुले बाबुआमालाई संरक्षण नगरेको खण्डमा अंश फिर्ता गर्नुपर्ने नीतिगत व्यवस्था गर्न पहल गर्ने कुरा पनि सो कार्ययोजनामा समेटिएको छ । उमेर र अवस्थाको आधारमा ज्येष्ठ नागरिकको वर्गीकरण गरी सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने कुरालाई पनि सो योजनामा मागका रुपमा राखिएको छ । महासंघका अध्यक्ष नेपाल सरकारका पूर्व सचिव सूर्य प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको बैठकले विधानअनुसार मनोनित गर्नुपर्ने पदहरु महासंघको केन्द्रीय उपाध्यक्षमा सुर्खेतका बालकृष्ण श्रेष्ठ, सचिवमा प्यूठानका वासुदेव शर्मा पण्डित र सह–कोषाध्यक्षमा गुल्मीका देवी ज्ञवालीलाई सर्वसम्मत मनोनयन गरी जिम्मेवारी दिएको छ ।
त्यसैगरी थप ५ जना केन्द्रीय सदस्यमा धनकुटाका कृष्णभागवत श्रेष्ठ, मकवानपुरकी वेगम बराल, चितवनका भोजराज न्यौपाने, स्याङ्जाका अमरनाथ शर्मा र जुम्लाका तुलाराम न्यौपानेलाई मनोनयन गरिएको छ । बैठकले जिम्मेवारी र कामको बाँडफाँड गरी विभिन्न उपसमितिहरुको संयोजक समेत तोकेको छ । जसमा विज्ञ समितिको संयोजकमा डा. गोपाल खनाल, योजना अनुगमन तथा मूल्यांकन समितिको संयोजकमा रमेश कुमार दत्त र सूचना तथा संचार समितिको संयोजकमा पत्रकार पंकज दाहाललाई विशेष जिम्मेवारी तोकिएको छ । विधानअनुसार सम्मान तथा पुरस्कार समितिको संयोजकमा महासंघकी प्रथम उपाध्यक्ष शारदादेवी चन्द रहनुभएको छ भने लेखा समिति संयोजक देवी प्रसाद देवकोटालाई चितवनको नारायणगढमा सम्पन्न एघारौं महाधिवेशनको हलबाटनै चयन गरिसकिएको छ ।
बैठकले महासंघको कामलाई छिटो छरितो र चुस्त दुरुस्त राख्न ७ जना पदाधिकारी र २ जना केन्द्रीय सदस्य रहेको कार्यव्यवस्था समिति पनि गठन गरेको छ । सो समितिमा केन्द्रीय सदस्यबाट बागमती प्रदेशका गोविन्दमणि भूर्तेल र गण्डकी प्रदेशका डा. गोपाल खनाललाई राख्ने निर्णय भएको सूचना तथा संचार समिति संयोजक पंकज दाहालले जानकारी गराउनुभएको छ । बैठकले महासंघको सल्लाहकारहरुको पनि व्यवस्था गरेको छ । बैठककै क्रममा गत जेठ २८ गते चितवनको नारायणगढमा सम्पन्न ११ औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई ओहदाको प्रमाण पत्र पनि वितरण गरिएको थियो ।

