दमक/ ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक झापाले २१२ औं भानु जयन्तीको अवसरमा रामायण कथा र कविता वाचनको प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ । आइतबार भएको सो कार्यक्रममा दुई दर्जन ज्येष्ठ नागरिकले रामायण कथा वाचन गरेका थिए भने आदिकवि भानु सँग सम्बन्धित कविताहरु पनि दुई दर्जन भन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए । दुबै प्रतियोगिताको मूल्याङ्कन साहित्यकारहरु विष्णु प्रसाद न्यौपाने, ओम प्रसाद खनाल र गोपाल दाहालले गरेका थिए ।
रामायण वाचन कार्यक्रममा त्रिलोचन उप्रेती प्रथम, काशीनाथ दाहाल द्वितीय, टीकादेवी उप्रेती तृतीय र तुलसा देवी कडरियाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । यसरी कविता वाचन कार्यक्रममा स्मित पराजुली प्रथम, मेघनाथ बन्धु द्वितीय, कमला घिमिरे तृतीय र जीवनाथ बरालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजेताहरुलाई दमक नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ईन्द्र बहादुर गुरुङ, प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पौडेल र पुरस्कार प्रयोजन गर्ने दाहाल परिवारको तर्फबाट सल्लाहकार सदस्य कमल प्रसाद दाहाल र कार्यसमिति सदस्य लक्ष्मीप्रसाद दाहालले संयुक्तरुपमा वितरण गरेका थिए ।

कार्यक्रम ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शिवप्रसाद काफ्लेले राखेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जीवराज भट्टराईले गरेका थिए ।
कार्यक्रममा सल्लाहकार सह–संयोजक डोयना दाहाल, सल्लाहकार सदस्य खेमलाल पोख्रेल, दमक प्रज्ञा प्रतिष्ठानका पूर्वअध्यक्ष हेमनाथ अधिकारी, प्रतिभा निकेतनका अध्यक्ष कमलप्रसाद भट्टराई, साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपाने, उपाध्यक्ष विन्दु दाहाल मुकदर्शक, पूर्वअध्यक्ष नरपति पाण्डे लगायत दर्जनांै साहित्यकार तथा ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
