समाचार

ज्येष्ठ नागरिकहरुलाई दिवा सेवा केन्द्र जरुरी भएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीको भनाई

दमक/ राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले पछिल्लो समय घरपरिवारमा एक्लो अवस्थामा रहेका ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र जरुरी रहेको बताएकी छन् । सोमबार झापाको दमक–८ स्थित ज्येष्ठ नागरिक संघ दमक नगर समितिको कार्यालयमा संचालित दिवा सेवा केन्द्रको अनुगमनपछि आयोजित स्वागत सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
महिला आयोगको कार्यक्षेत्रभित्र ज्येष्ठ नागरिकको सवाल र उनीहरुमाथि हुने अवहेलना, दुर्व्यवहार तथा हिंसाविरुद्धको अभियान पनि पर्दछ । त्यसमाथि पनि महिला ज्येष्ठ नागरिकहरुमाथि हुने यस्ता प्रकृतिका कार्यहरुमा आयोगको ध्यानाकृष्ट हुने गरेको पाइएको छ । सोही सन्दर्भमा घरपरिवार र समुदायमा ज्येष्ठ नागरिकको जीवन कतिको सम्मानित, सुरक्षित र मर्यादित रहेको छ भन्ने कुरामा आयोगको चासो र संवेदनशीलता रहने गरेको छ । अध्यक्ष पराजुलीले ज्येष्ठ नागरिकहरुमाथि अवहेलना, दुर्व्यवहार र हिंसा हुन नदिन नयाँ पुस्तालाई नैतिक शिक्षा र पुस्तान्तरणको ज्ञान दिई सचेत र जागरुक बनाउनुपर्ने कुरामा पनि त्यस अवसरमा जोड दिइन् ।


घरपरिवारका युवा सदस्य विदेश जाँदा या स्वदेशमै पेशा र रोजगारीको सिलसिलामा बाहिर रहँदा ज्येष्ठ नागरिकहरु र बालबालिका मात्र हुने गरेको उनले स्मरण गराइन् । त्यसमाथि पनि बालबालिकाहरु विद्यालयमा अध्ययनका लागि जाने हुँदा दिउँसोको समयमा ज्येष्ठ नागरिकहरु निरश र एकल जीवन विताइरहेको अवस्थामा राज्यले उनीहरुको मनोविनोद हुनेगरी देशैभरिका पालिकाका सबै वडामा दिवा सेवा केन्द्र स्थापना गरी संचालन गर्ने कुरामा विशेष ध्यान दिन आग्रह गरिन् । दिवा सेवा केन्द्रमा हुने सामाजिक, धार्मिक लगायतका गतिविधिले त्यहाँ जाने ज्येष्ठ नागरिकको जीवनलाई सरसपूर्ण बनाउन मद्दत गर्ने हुँदा ऐन कानुन बमोजिम सबै वडाहरुमा दिवा सेवा केन्द्र संचालन गर्ने कुराका लागि स्वयं ज्येष्ठ नागरिकहरुको संगठित पहलकदमी, सरकारी निकायसँगको सम्पर्क समन्वय र सरोकारवालाहरुको पनि उत्तिकै सक्रियता र भूमिकाको खाँचो रहेको उनले औंल्याइन् ।
दिवा सेवा केन्द्र संचालन गर्ने कुरालाई विशेष प्राथमिकतामा राख्न सरकारलाई सिफारिस गर्ने र घचघच्याउने कुरामा पनि आयोगले पहल गर्ने उनको भनाई थियो । त्यस अवसरमा विशेष अतिथिका रुपमा बोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य तथा ज्येष्ठ आवाज द्वैमासिक पत्रिकाका प्रधान सम्पादक पंकज दाहालले ज्येष्ठ नागरिकहरुको हक, हित र अधिकारका लागि वडा स्तरदेखि केन्द्रीय सरकार सम्मनै आवाज उठाउने र उनीहरुको सम्मानित, सुरक्षित र मर्यादित जीवनयापनका लागि आवश्यक वातावरण बनाउने कुरामा कुनै कसर बाँकी नराख्ने बताए । दाहालले राष्ट्रिय महासंघले अब देशका सबै पालिकामा पुगेर वडा स्तरका ज्येष्ठ नागरिक समितिहरु गठन गर्न जिल्ला संघ र पालिकामा रहेका पालिका स्तरीय संघ/समितिहरुलाई परिचालन गर्ने पनि जानकारी गराए । महासंघको केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट सर्वसम्मत निर्वाचित भई जिम्मेवारी ग्रहण गरेकोमा ज्येष्ठ नागरिक संघ दमक नगर समितिका अध्यक्ष वयोवृद्ध ९२ वर्षीय लक्ष्मीप्रसाद थपलियाले पत्रकार दाहाललाई खादा लगाएर स्वागत सम्मान गर्दै बधाई दिएका थिए ।


संघका अध्यक्ष थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक संघ दमक नगर समितिका सचिव गंगाप्रसाद संग्रौलाले स्वागत मन्तव्य राख्नुका साथै संघको संस्थागत परिचयबारेमा प्रमुख अतिथि पराजुलीलाई अवगत गराएका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ झापाकी सल्लाहकार पम्फादेवी दाहाल र अन्य ज्येष्ठ नागरिकहरुको विशेष सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *