दमक/ झापाको दमक नगरपालिकाले लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस (जुन २६) प्रभातफेरी गरेर मनाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लगायत विहीबार विहान नगरका विभिन्न भाग परिक्रमा गर्दै प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरीमा विभिन्न विद्यालयका जनप्रतिनिधि, प्रहरी, सामाजिक संघ संस्थाका प्रतिनिधि, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो । नगरपालिकाको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी फाल्गुनन्द चौक, यलम्बर चौक, बेलडाँगी रोड, नमुना मार्ग हुँदै बजार परिक्रमा गरी पुनः नगरपालिकाको कार्यालयमा पुगेर समापन गरिएको थियो ।

समापनका क्रममा नगर प्रमुख राम कुमार थापाले लागुऔषध दुर्व्यसन र ओसारपसारको समस्या गम्भीर रहेको भन्दै त्यसबाट छुटकारा पाउन सबै सरोकारवालाहरु एकजुट भएर लागीपर्नुपर्ने आवश्यकता औंल्याए । यसका लागि नगरपालिकाले पनि वडा वडामा सचेतना, संगठन, नियन्त्रण र दण्ड सजायका कार्यहरु गरिरहेको साथै यो मुद्दालाई प्राथमिकतामा राखेको नगर प्रमुख थापाले प्रष्ट पारे । त्यस अवसरमा इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र प्रसाद चापागाई, नगरपालिका सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य शारदा सापकोटा भट्टराई, इलाका प्रहरी कार्यालय दमकका निमित्त कार्यालय प्रमुख नविन राई लगायतले लागुऔषधको कारोबार, सेवन र प्रयोग नियन्त्रण गर्ने कुरामा समाजका हरेक पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखेका थिए ।
