दमक/ झापाको दमक नगरपालिकाको १७ औं नगरसभा बुधबारदेखि शुरु भएको छ । नगरसभाको पहिलो बैठक नगर प्रमुख राम कुमार थापाले सभाध्यक्षको हैसियतमा संचालन गरे । सभामा नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरिन् ।
प्रस्तुत विधेयकअनुसार दमक नगरपालिकाको बजेट कुल १ अर्व ४७ करोड रुपैयाँ बराबरको तय गरिएको जानकारी गराइएको छ । जसमा चालू खर्च तर्फ ७१ करोड २९ लाख ५० हजार अर्थात् ४८ दशमलव ५५ प्रतिशत र पुँजीगत खर्च तर्फ ७४ करोड ५० लाख ५० हजार अर्थात् ५० दशमलव ६५ प्रतिशत रकम खर्च हुने अनुमान गरिएको छ ।

बजेटमा नगरपालिकाको आन्तरिक आम्दानी ३४ करोड ९१ लाख ५४ हजार रुपैयाँ हुने अनुमान गरिएको छ भने संघीय सरकारको अनुदान ७२ करोड ८४ लाख रुपैयाँ रहेको छ । प्रदेश सरकारको अनुदान ३ करोड ९३ लाख ८६ हजार रुपैयाँ र राजस्व बाँडफाँडबाट २९ करोड ३० लाख ५९ हजार रुपैयाँ राजश्व उठ्ने अनुमान गरिएको छ । त्यस्तै विभिन्न जनसहभागितामुलक योजनाहरुमा जनसहभागिता वापत १ करोड रुपैयाँ र दमक अस्पतालको बीमा दावीबाट ३९ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । दमक अस्पतालका लागि विशेष विनियोजनका रुपमा ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटले सामाजिक समावेशीता, पूर्वाधार विकास, गुणस्तरीय सेवा प्रवाह, डिजिटल नगर निर्माण, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन, युवा तथा महिला सशक्तिकरण, खेलकुद लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको छ । नगर प्रमुख थापाले बजेटले दमकलाई समावेशी, समृद्ध र प्रविधिमैत्री नगरको दिशामा लैजाने विश्वास व्यक्त गर्नुभएको छ ।
नगरसभामा लेखा समिति संयोजक गोपालकृष्ण संग्रौलाले नगरपालिकाले विगतमा गरेको खर्च र आम्दानीको लेखाजोखा राखेर गरिएको लेखा प्रतिवेदन आवश्यक सुधार गर्नुपर्ने विषय समेत समेटेर प्रस्तुत गरेका थिए ।
