भरतपुर/ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको ११ औंं महाधिवेशनबाट सूर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । यही जेठ २८ गते चितवनको नारायणगढमा भव्यतापूर्वक सम्पन्न ऐतिहासिक महाधिवेशनबाट १२ सदस्यीय नेतृत्व चयन गरिएको हो । महासंघको प्रथम उपाध्यक्षमा कञ्चनपुरकी मानवअधिकारकर्मी शारदादेवी चन्द, महासचिवमा गोरखाका मोहनलाल श्रेष्ठ र कोषाध्यक्षमा चितवनका केदारनाथ तिमल्सेनाबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनीहरु सर्वसम्मत भएका हुन् ।
त्यसैगरी केन्द्रीय सदस्यहरुमा भने कोशी प्रदेशबाट झापाका पंकज दाहाल, मधेशबाट पर्साका रमेशकुमार दत्त र अन्य प्रदेशहरुबाट बासुदेव शर्मा, ओमप्रसाद ढकाल, गोविन्दमणि भूर्तेल, गोपाल प्रसाद खनाल तथा सुदूरपश्चिमबाट डोटीकी लक्ष्मीदेवी श्रेष्ठ चयन भएका छन् । लेखा समिति संयोजकमा पनि वागमतीका देवीप्रसाद देवकोटालाई सर्वसम्मत छानिएको छ । विधानअनुसार महासंघको उपाध्यक्ष, सह–सचिव र सह–कोषाध्यक्ष भने कार्यसमितिको परामर्शमा अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । अर्कातर्फ सात वटै प्रदेश ज्येष्ठ नागरिक महासंघका अध्यक्षहरु भने पदेन केन्द्रीय सदस्य हुने प्रावधान रहेको छ । कार्यसमितिमा थप ५ जना केन्द्रीय सदस्य भने अध्यक्षबाट मनोनयन गरेर पद पूर्ति गरिनेछ भने निवर्तमान अध्यक्ष छत्रबहादुर प्रधान पदेन सदस्य रहने वैधानिक व्यवस्था छ । केन्द्रीय कार्यसमिति जम्मा २७ जनाको हुनेछ ।

काठमाडौ निवासी नवनिर्वाचित अध्यक्ष श्रेष्ठ प्रमुख जिल्ला अधिकारी हुँदै नेपाल सरकारको सचिव समेतमा रहेर कुशलतापूर्वक जिम्मेवारी सम्हालेका निवृत्त राष्ट्रसेवक हुन् । प्रथम उपाध्यक्ष चन्द सामाजिक कार्यकर्ता र मानवअधिकारवादी हुन् । महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गरेकी थिइन् । उद्घाटनपछि प्रमुख अतिथिका रुपमा शुभकामना मन्तव्य राख्दै मेयर दाहालले राज्य र सरकारले समाजलाई ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने कुरामा जोड दिएकी थिइन् । उनले पुरानो पुस्ताको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा ह्रस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताइन् । त्यसअवसरमा ज्येष्ठ नागरिकहरुलाई आफ्नो महानगरपालिकाले दिएगरेका सेवा सुविधाहरुका बारेमा पनि प्रष्ट पारिन् । कार्यक्रममा निवर्तमान केन्द्रीय सदस्य मोहनलाल श्रेष्ठ, प्रदेश संघहरुका तर्फबाट वागमतीका संयोजक देवीप्रसाद देवकोटा र जिल्ला संघहरुका तर्फबाट चितवनका अध्यक्ष माधवप्रसाद शर्मा घिमिरेले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम महासंघका निवर्तमान अध्यक्ष छत्रबहादुर प्रधानको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य निवर्तमान केन्द्रीय सदस्य सूर्यप्रसाद श्रेष्ठले गरेका थिए । बन्द सत्रमा प्रस्तुत वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन आवश्यक छलफलपछि हलबाट सर्वसम्मतिले पारित गरिएको थियो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका तर्फबाट वरिष्ठ अधिवक्ता एकनारायण सापकोटाले सपथ ग्रहण गराएका थिए ।
