दमक/ जलवायु परिवर्तनले वातावरणमा गम्भीर संकट निम्त्याएका बेला बिहीबार देश तथा विदेशमा एकैसाथ विश्व वातावरण दिवस विभिन्न गतिविधि गरेर भव्यताका साथ मनाइएको छ । यसैक्रममा झापाको दमकमा पनि दमक नगरपालिकाको आयोजना र शुलभ नेपाल नामक सामाजिक संस्थाको सहयोग र सहकार्यमा सरोकारवालाहरुलाई एकैथलोमा डाकेर वृहत अन्तरक्रिया र छलफल गरिएको छ । नेपालीरिका होटलमा शुलभ नेपालको माउ संस्था भारतमा रहेको शुलभ इन्टरनेशनलका वरिष्ठ व्यक्तित्वहरुको गहन मन्तव्य र वातावरण बचाउका बारेको विशेष प्रस्तुतिले वातावरण संरक्षणको क्षेत्रमा नेपालमै नयाँ मोडलमा विशेष अभियान थालनी हुन लागेको शुरुवाती संकेत मिलेको छ ।
शुलभ नेपालले पूर्वको कोशी प्रदेशबाट सुविधासम्पन्न र नयाँ विशेषतासहितको सार्वजनिक शौचालय निर्माणमा सहयोग पुर्याउनेगरी प्रारम्भिक गृहकार्य र छलफलहरु समेत हुन थालेको बताएको छ । त्यसका लागि दमक नगरपालिकाका कार्यवाहक मेयर तथा वडा नं. ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहाल र वातावरण तथा विपद् व्यवस्थापन समितिका सभापति साथै वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिवद्धता समेत जनाएका छन् । शुलभ नेपालको सुविधासम्पन्न शौचालय निर्माणको अभियान कोशी प्रदेशबाट शुरु गरिने र त्यसका लागि स्थानीय तहका सरकारहरुले उचित कानुनी र प्रशासनिक वातावरण प्रदान गर्नुपर्ने नेपालीरिकामा भएको अन्तरक्रियाका वक्ताहरुले बताएका थिए । कार्यक्रमका वक्ताहरुले वातावरण संरक्षण र जलवायु परिवर्तनको असरले विश्वव्यापी संकट निम्त्याएको साथै त्यसको समाधान चुनौतीपूर्ण रहेको दलिल पेश गरेका थिए ।

कार्यवाहक मेयर दाहालले पनि शुलभ नेपाललाई काम गर्ने वातावरण निर्माण गर्न आधारशिला तयार गर्ने कुरामा सकेको सहयोग गर्ने बताए । शुलभ इन्टरनेशनलका वरिष्ठ उपसभापति डा. सुतिर्थ सहरियाले विकास र समृद्धिका लागि समुदायस्तरको हातेमालो जरुरी हुने र त्यसमा सरकार र गैरसरकारी क्षेत्रले गरेको काममा उनीहरुको पनि अपनत्व हुने वातावरण बनाएमात्र त्यो दिगो हुने धारणा राखे । नेपाल वनजंगल र नदीनालामा धनी रहेको जनाउँदै डा. सुतिर्थले पश्चिमा मोडल भन्दा आफ्नै देशको भूबनोट र प्राकृतिक स्रोत साधन साथै सम्पदा, संस्कृतिमा आधारित मौलिक मोडलमा वातावरण संरक्षण र विकासको काम गर्नुपर्ने कुरामा जोड दिए । भारत र नेपाल अन्योन्याश्रित सम्बन्ध रहेका छिमेकी देश रहेको भन्दै दुवै देशका राम्रा, सकारात्मक काम र प्रगतिका कुराहरु एकले अर्कोबाट सिक्न पछि पर्न नहुने उनले प्रष्ट पारे । यसका लागि शुलभ नेपाललाई काम गर्न हौसला र प्रेरणा दिने भन्दै वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, सरसफाई, पानी, शिक्षा, स्वास्थ्य, उद्यमशीलता तथा सीप विकास, खाद्य सुरक्षा, बायो ग्यास तथा आवासको क्षेत्रमा जे जति सो संस्थाका सकारात्मक परियोजना र कार्यक्रमहरु छन्, तिनका लागि सहकार्य र समन्वय गर्ने कुरामा आफूहरु तत्पर रहेको कार्यक्रमका प्रमुख अतिथि रहेका कोशी प्रदेश सभासद होमबहादुर थापाले प्रतिवद्धता जाहेर गरे । प्रदेश सांसद थापाले राज्यको नीति निर्माणको तहदेखि ऐन कानुनको क्षेत्र र तिनको कार्यान्वयनको स्तरबाटै सहजता र सहयोग प्रदान गर्ने कुरामा आफूहरु पछि नहट्ने उनको भनाई थियो ।
जलवायु परिवर्तनबाट देखापरेको विश्वव्यापी संकट सबैको चासोको विषय रहेकाले यसमा नेपाल पनि गम्भीर रहेको भन्दै सांंसद थापाले नजिकैको छिमेकी भारतमा आधारित शुलभ इन्टरनेशनलले विकास गरेको वातावरण संरक्षण र विकास तथा समृद्धिको मोडल नेपालका लागि पनि अनुसरणयोग्य र महत्वपूर्ण सावित हुनसक्ने आफूले महशूस गरेको बताए । कार्यक्रममा शुलभ इन्टरनेशनलका मुख्य आर्किटेक्ट सुधाकर किनीले शुलभ (सुविधासम्पन्न) शौचालयका नयाँ मोडलहरुका बारेमा सचित्र व्याख्या गरे । सुधाकरले तयार गरेका सार्वजनिक शौचालयका मोडलहरु सुरक्षित, व्यवस्थित, सरसफाईयुक्त, शान्त, प्रकाशमय, विद्युतको सुविधा भएको, स्नानगृह र क्यान्टिनसमेत भएको, स्तनपान कक्ष भएको, महिलाहरुका लागि सेनिटरी प्याडको कक्ष भएको साथै कतिपय अवस्थामा स्टेनलेस स्टिलबाट प्यान तथा कमोटहरु बनेको हुने भनेर देखाइएको थियो ।

शुलभ इन्टरनेशनलका वरिष्ठ सल्लाहकार तथा भारतको सिक्किम सरकारका पूर्वमुख्य सचिव जि.पी उपाध्यायले नेपाल आध्यात्मिक, धार्मिक, सांस्कृतिक र सम्पदाको विहंगम धरोहर स्थल रहेकाले यहाँ नेपाल र नेपालीका लागि विकास र समृद्धिको एकीकृत ढाँचाको अवधारणाका साथ काम गर्न शुलभ नेपाल अग्रसर भएको र शुरुवाती चरणका कामहरु गर्न पाउँदा आफूहरु धन्य भएको बताए । यसमा सरकार, समुदाय र सबै सरोकारवालाहरुको सकारात्मक सहयोग रहने अपेक्षा गरेको पनि उनको भनाई थियो । शुलभ नेपालका कार्यक्रम व्यवस्थापक शैलेश अधिकारीले स्थानीय सीप, स्रोत र साधनको भरपुर उपयोग गरेर नेपालको विकास र समृद्धिका लागि कार्य गर्न आफूहरु लागीपर्ने भन्दै संस्थाको उद्देश्य र कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारे । कार्यक्रममा कोशी प्रदेश सांसद नम्वरलाल धिमाल र राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन दमक नगरपालिका वातावरण शाखा प्रमुख भुवन बरालले गरेका थिए । त्यसबीचमा चीनको भ्रमणमा रहेकी दमक नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईको अडियो सन्देश पनि सुनाइएको थियो ।
वातावरण संरक्षणमा उत्कृष्टलाई सम्मान तथा पुरस्कार
सोही कार्यक्रममा दमक नगरपालिकाले नगरलाई सुन्दर, सफा, हराभरा राख्म विशेष योगदान पुर्याउने वडा नं. ६ का थानारोड शान्तिमार्ग टोल विकास संस्थाका अध्यक्ष नन्दीकेशर अधिकारीलाई नगदसहित सम्मान र पं्रशंसा पत्र प्रदान गरेको छ । यस्तो सम्मान र प्रशंसा पत्र पाउनेमा जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश प्रसाद गौतम पनि रहेका छन् । अर्कातर्फ शुलभ नेपालले भने फोहोरमैला व्यवस्थापमा महत्वपूर्ण भूमिका खेलेको भन्दै नेक्स्ट ईरा ईनर्जीका प्राविधिक वैज्ञानिक विजय पाण्डेलाई विशेष अभिनन्दन गरेको छ
