दमक/ नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संगठनले पनि झापाको दमकमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । संगठनको झापा निर्वाचन क्षेत्र नं. ५ का क्षेत्रीय सभापति गोपाल बहादुर निरौलाको अगुवाईमा संगठनको क्षेत्रीय समितिले दमकको खरखरेदेखि पश्चिततर्फ ताराबारी डिपु सम्म सडकको दायाँ बायाँ २ सय वटा विरुवा रोपेर बिहीबार (जुन ५ मा) वातावरण दिवस मनाएको हो । बिग्रँदो क्रममा रहेको वातावरणलाई स्वच्छ, सफा र हराभरा बनाउन पनि वृक्षारोपण कार्यक्रम गरिएको अध्यक्ष निरौलाले बताए ।

वृक्षारोपण कार्यक्रममा नेपाली सेनाको २१ नं. बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी ब्रजेश महर्जनले प्रमुख अतिथिका रुपमा आतिथ्यता ग्रहण गरेका थिए भने विरुवा रोप्दै कार्यक्रमको उद्घाटन समेत गरेका थिए । त्यसैगरी दमक नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा वडा नं. ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहाल र सो सैनिक संगठनका झापा जिल्ला सभापति क्रान्ति बहादुर कार्कीले विशिष्ट अतिथिका रुपमा आतिथ्यता ग्रहण गर्दै वृक्षारोपणमा समेत सहभागिता जनाएका थिए । वृक्षारोपणमा कमल गाउँपालिका वडा नं. ५ को गुह्येश्वरी सामाजिक संस्था, नेपाल राष्ट्रिय सेवा दल, दमक नगर प्रहरी, नेपाली सेनाका सैनिकहरु, स्थानीय सामाजिक व्यक्तित्वहरु, विद्यार्थी र अन्य सरोकारवालाहरुको पनि सहभागिता रहेको सैनिक संगठनका क्षेत्रीय अध्यक्ष निरौलाले जानकारी गराए । भूतपूर्व सैनिक संगठनले सहकर्मी निवृत्त सैनिकहरुलाई गोलबन्द गर्नुका साथै सामाजिक हितका निम्ति विभिन्न सकारात्मक र दूरगामी महत्वका क्रियाकलापहरु गर्दै आएको पनि उनले बताए ।
