समाचार

दमकका कार्यवाहक मेयर पौडेल र कमलका अध्यक्ष राईलाई पत्रकार महासंघ झापाको ज्ञापन पत्र

दमक/ नेपाल पत्रकार महासंघ झापा जिल्ला शाखाले आफ्‌ना विभिन्न मागहरु राख्दै दुई पालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । पत्रकारिता क्षेत्रको प्रवद्र्धन र संवद्र्धन तथा स्थानीय मिडियाहरुको संरक्षणको माग गर्दै महासंघको झापा शाखाले यस्तो ज्ञापन पत्र बुझाएको छ । बुधबार दमक नगरपालिकाका कार्यवाहक मेयर भिमप्रसाद पौडेल र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईलाई उनीहरुको आफ्‌नै कार्यकक्षमा भेटेर ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्र बुझाउन पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य मनकुमार गदाल, अर्का सदस्य सुदीप अधिकारी, महासंघका सदस्यहरु पंकज दाहाल, राजु पोखरेल, सुजन गौतम र हिमशिखर टेलिभिजनका संचारकर्मी सूर्य तिम्सिनाको टोली दमक र कमल पुगेको थियो । मेयर पौडेललाई पत्रकार पंकज दाहाल र महासंघको झापा शाखाका कार्यसमिति सदस्य गदालले ज्ञापन पत्र हस्तान्तरण गरेका थिए भने कमलका अध्यक्ष राईलाई पनि उनीहरुले नै ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र र आगामी आर्थिक वर्षको बजेटमा राख्न माग गरिएको कुराहरुका बारेमा दमकका पत्रकार सुदिप अधिकारी र कमलमा पत्रकार पंकज दाहालले विवरणात्मक प्रस्तुति गरेका थिए । ज्ञापन पत्र बुझ्‌दै मेयर पौडेल र कमल अध्यक्ष राईले पत्रकारिताको क्षेत्रमा स्थानीय मिडिया र मिडियाकर्मीहरुको क्षमता विकास, संरक्षण र सबलीकरणका लागि आफूहरु प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि आगामी बजेटमा सकेको व्यवस्था गर्ने वचन दिए ।


महासंघ झापाले स्थानीय पालिकाहरुमा सञ्चारसम्बन्धी कानुनहरु बनाउन, स्थानीय सूचना र लोककल्याणकारी सन्देशमूलक विज्ञापन स्थानीय मिडियालाईनै दिन, पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिन, पत्रकारहरुको क्षमता विकास,सीप र मिडिया साक्षरताका लागि बजेट छुट्याउन पनि माग गरेको छ । यसैगरी ज्ञापन पत्र र मागमा महासंघ झापाको पत्रकार सहारा उपचार कोषमा सहयोग गर्न, महासंघको भौतिक विकास र संचार उपकरण खरिद तथा खोजमूलक लेख, अनुसन्धान र लेखनवृत्तिका लागि पनि झापाका सबै पालिकाहरुलाई पर्याप्त बजेट विनियोजन गरी सहयोग गर्न भनिएको छ । ज्ञापन पत्र बुझाउने कार्यलाई झापाका सबै पालिकामा अभियानका रुपमा संचालन गरिएको पनि पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *