समाचार

झापाको कमल गाउँपालिकाले गर्‍यो सार्वजनिक सुनुवाई

कमल/ झापाको कमल गाउँपालिकाले चालू आर्थिक वर्षमा भएगरेका काम तथा गतिविधिहरुका बारेमा सार्वजनिक सुनुवाईको कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाको नीति, योजना र कार्यक्रम तथा हाल सम्मको प्रगति, अवस्था र क्षमताका बारेमा जानकारी गराउनुका साथै सहभागी पालिकावासीहरुका तर्फबाट सोधिएका प्रश्नहरुका बारेमा आधिकारिक जनप्रतिनिधि तथा अधिकारीहरुबाट जवाफ समेत दिईयो ।
शुक्रबार भएको सार्वजनिक सुनुवाईको कार्यक्रम कमल–२ स्थित गाउँपालिका कार्यालय उत्तरमा रहेको कमलेश्वरी सहकारीको सभाहलमा भएको हो । गाउँपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रा. लि. को प्राविधिक सहयोगमा भएको सो कार्यक्रमको पहिलो चरणमा पालिका अध्यक्ष हुकुमसिंह राईले अध्यक्षता गरेका थिए । जसमा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले गाउँपालिकाको तर्फ बाट चालू आर्थिक वर्षमा भए गरेका कार्यक्रमको संक्षिप्त गतिविधिका प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा सहभागीका तर्फका जिज्ञासा संकलन गरिएको थियो । जसमा सहभागीका तर्फ बाट देबु चापागाईँ, एल. बि. तामाङ, ख्यामराज खनाल, उमाकान्त निरौला, सोमनाथ भण्डारी लगायतले सडक, विद्युत, जंङ्गली हात्तीको समाधान, स्वास्थ्य र कर्मचारी व्यवस्थापन लगायतका विषयका जिज्ञासा राखेका थिए । सहभागीका तर्फ बाट राखिएका जिज्ञासाको गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र प्रमुख प्रसाशकीय अधिकृत केशव कुमार ढकाल, ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोइरालाले जवाफ दिएका थिए ।

कार्यक्रममा राजनीतिक दलका तर्फ बाट नेपाली काँग्रेसका विरभद्र पोख्रेलले सकारात्मक सुझाव दिएका थिए भने २ नम्बर वडाध्यक्ष अशोक सुब्बाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण भिन्न मिडिया एण्ड रिसर्च प्रा.लि.का तर्फ बाट बाबुराम निरौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *