समाचार

होटल व्यवसायी संघ दमकले गर्‍यो शिवसताक्षीको पारावारीमा निःशुल्क स्वास्थ्य शिविर

दमक/ होटल व्यवसायी संघ दमकले झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ को पारावारीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा स्वास्थ्य जाँच गर्न आएका स्थानीय व्यक्तिहरुको सामान्य स्वास्थ्य, आँखा तथा दन्त सम्बन्धी रोगहरुको परीक्षण गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरियो । शिविरमा ३३७ जनाले स्वास्थ्य जाँच गराई लाभ लिएको आयोजक होटल व्यवसायी संघ दमकका महासचिव भूपेन्द्र प्रसाद न्यौपानेले जानकारी गराएका छन् ।


शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा, विशिष्ट अतिथिका रुपमा वडा नं. ३ का वडाध्यक्ष भाष्कर न्यौपाने, होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगाल लगायत संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता आयोजक होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले गरेका थिए । सामान्य स्वास्थ्य जाँचमा नाक, कान, घाँटी, बाल रोग, स्त्री रोग लगायत जाँच गरिएको थियो । सो कार्यका लागि आम्दा अस्पताल दमकका मे.सु. डा. शिखर कट्टेल, महिला तथा प्रसूति रोग विशेषज्ञ डा. पविना कट्टेल, आँखा जाँचका लागि मेची दृष्टि आँखा अस्पताल विर्तामोडका डाक्टरहरु तथा दाँतका लागि दमकको ॐ शान्ति डेन्टल हस्पिटलका डाक्टरहरुले चेकजाँच गरेका थिए । शिविर संचालनका लागि शिवसताक्षी–३ को वडा कार्यालयको सहकार्य रहेको थियो । शिविरको समापनका क्रममा सहकार्य गरेका अस्पतालका डाक्टरहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *