दमक/ लेखक तथा साहित्यकार रामकुमार उपाध्याय नेपालको खोज तथा अनुसन्धानमूलक कृति ‘विद्यार्थी जीवन’ को लोकार्पण गरिएको छ । शुक्रबार दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरिएको हो । कृतिको लोकार्पण वरिष्ठ साहित्यकार प्राध्यापक डा. गोविन्दराज भट्टराई, प्रा.डा.देवी नेपाल, प्रा.डा. अन्जना भट्टराई, डा. व्यञ्जना शर्मा, साहित्यकार खेमलाल पोखरेल, कवि विन्दु दाहाल मूकदर्शक, लेखक स्वयं र निजकी श्रीमति गोमा नेपालले सामूहिक रुपमा गरेका हुन् ।
कृतिको लोकार्पणपछि प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै डा. गोविन्दराज भट्टराईले प्रकाशित कृतिको नाम ‘विद्यार्थी जीवन’ भएपनि यसमा समाज र शिक्षाका विविध पक्षहरुलाई मात्र होइन, अध्यात्म, दर्शन, विज्ञानका विभिन्न विषयहरुलाई छुवाएर सटिक र संक्षिप्त प्रस्तुति दिएको र त्यो सबैका लागि पठनीय र प्रेरणादायी भएको बताए । डा. देवी नेपालले कृतिकारको लगन र मेहनतले बौद्धिक कृति जन्मिएको भन्दै शुभकामना दिए । डा. व्यञ्जना शर्माले कृति विद्यार्थीका लागि मात्र नभई शिक्षक र अभिभावकहरुका लागि पनि पठनयोग्य र प्रेरणादायी भएको सुनाइन् । समीक्षात्मक टिप्पणी गर्दै कवि विन्दु दाहाल मूकदर्शकले कृतिबाट विद्यार्थीहरुले कर्मशील, इमान्दार, कर्तव्यपरायण, अनुशासित र धैर्यवान हुन सिक्नुपर्ने बताए । यसअघि कृतिकार नेपालका ‘डन्ट डिभोर्स’ र ‘मेरो खोज तपाईको सफलता’ प्रकाशित भइसकेका छन् भने थप ११ वटा कृतिका पाण्डुलिपी तयारी अवस्थामा रहेका छन् ।

कार्यक्रममा साहित्यकार खेमलाल पोखरेलले पनि शुभकामना मन्तव्य राखेका थिए भने कवि तथा गजलकार विवश बलिभद्र कोइरालाले कविता वाचन गरेका थिए । कृतिकारका बुवा चन्द्रमणि नेपालको आतिथ्यता रहेको कार्यक्रमको संचालन कवि धनकुटे कान्छाले गरेका थिए । कार्यक्रमको अध्यक्षता कृतिकार स्वयंले गरेकोमा उनले प्रकाशित कृति कसरी लेखियो भन्नेबारेमा समेत प्रकाश पारेका थिए । कार्यक्रममा दमकमा रहेका साहित्यकर्मी, शिक्षक, अभिभावक, पत्रकार, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
