समाचार

दमक नगरपालिकाको १६ औं नगर सभा सम्पन्न

केही संशोधन विधेयक र प्रतिवेदनका साथै विशेष प्रस्ताव सर्वसम्मत पारित

दमक/ दमक नगरपालिकाको १६ औं नगर सभा मंगलबार विभिन्न निर्णय गर्दै सौहार्द्रपूर्ण रुपमा सम्पन्न भएको छ । नगर सभाको पहिलो बैठकमा आइतबार ऐन संशोधनका लागि केही विधेयक, विभिन्न समितिका संयोजक तथा प्रतिनिधिहरुबाट समितिको प्रगति प्रतिवेदन र प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीबाट विशेष प्रस्तावहरु पेश गरिएकामा सामान्य सुधार सहित सबै आवश्यक छलफल पछि सर्वसम्मत रुपमा पारित भएका छन् । नगरसभाको दोश्रो बैठकमा मंगलबार केही सभासद्हरुले प्रश्न गरेका थिए भने नगर प्रमुख राम कुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई र प्रमुख प्रशासकीय अधिकृत कार्कीले तिनको उपयुक्त जवाफ दिएका थिए ।

नगर प्रमुख थापाले दमकको फुटपाथ व्यवस्थापन, पूर्वाधार विकासका कामहरु, शिक्षा र स्वास्थ्यमा बढी महत्व दिएको कुरा, सिटी रिक्सा दर्ता र ब्लु बुक वितरणको कार्य, सडक बत्तीको महशूल बक्यौताको कुरा, सामाजिक र कृषि क्षेत्रका काममा वडासँग आवश्यक समन्वय गरेर काम गर्ने कुरामा आफूहरु सजग र चनाखो रहेको बताए । नगर उप–प्रमुख भट्टराईले लैङ्गिक हिंसा नियन्त्रण र रोकथामका लागि आगामी दिनमा सरोकारवाला सबैसँग समन्वय र सहकार्य गर्ने साथै नपुगेका ठाउँमा पुगेर र नसमेटिएका क्षेत्र समेटेर कार्य गर्ने बताइन् । पहिलो बैठकमा पेश भएका विधेयक र प्रतिवेदनहरु सभाध्यक्ष तथा नगर प्रमुख थापाले हुन्छ र हुन्न भन्ने ध्वनि मतका आधारमा हुन्छ भन्ने मत मात्र परेकाले सर्वसम्मत पास भएको घोषणा गरेका थिए । नगर सभाबाट आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक, फोहोमैला व्यवस्थापन तथा प्लाष्टिक जन्य सामग्री प्रतिबन्ध सम्बन्धी विधेयक, पूर्वाधार विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, दमक नगर आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ लाई संशोधन गर्ने बनेको विधेयक, सहकारी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, दमक नगर प्रहरी ऐन २०७६ लाई संशोधन गर्ने बनेको विधेयक, कर्मचारी संगठन संरचना मापदण्ड २०७७ लाई संशोधन गर्न बनेको विधेयक पास भएर ऐन बनेका छन् ।


त्यसैगरी नगरपालिकाका लेखा समिति, सामाजिक विकास समिति, राजश्व परामर्श समिति, विधायन समिति, अनुगमन समिति, सुशासन तथा स्थानीय सेवा समिति, पूर्वाधार विकास समिति, आर्थिक विकास समिति, बजार व्यवस्थापन समिति, दमक अस्पताल विकास समिति र यातायात व्यवस्थापन समितिका संयोजक तथा प्रतिनिधिहरुले आ–आफ्‌नो समितिका प्रतिवेदनहरु अलग अलग गरी पेश गरेकोमा सर्वसम्मत पारित गरिए । यो सँगै दमक नगरसभाको हिउँदे अधिवेशन समापन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *