कमल/ झापाको कमल गाउँपालिकामा नसर्ने रोगहरुको शीघ्र पहिचान शिविर शुरु भएको छ । कमल–५ नम्वर वडा कार्यालयबाट मंगलबारदेखि यस्तो स्वास्थ्य जाँच शिविर शुरु गरिएको हो । वडा कार्यालय हातामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा गएर गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आफ्नो स्वास्थ्य जाँच गराएर शिविरका उद्घाटन गरे । उनीसँगै गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्ट, वडा सदस्यहरु ओम कुमार प्रधान, चन्द्रकला सुब्बाले पनि स्वास्थ्य जाँच गराए । यो शिविरलाई केएचडीसी अभियानका रुपमा पनि लिइएको छ ।

यस्तो शिविर यही फागुनका २७ गते सम्म कमल गाउँपालिकाका सबै वडाहरुमा क्रमागत रुपमा संचालन गरिने स्वास्थ्य शाखा प्रमुख तथा कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहालले बताए । नेपाल सरकारले नसर्ने रोगहरूको शीघ्र पहिचानका लागि समुदाय स्तरमा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । नेपाल सरकारले समुदाय स्तरमै नसर्ने रोगहरूको शीघ्र पहिचान गर्न नीति तथा कार्यक्रम लागू गरिरहेको छ भने स्थानीय तहले तिनको कार्यान्वयन र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

पछिल्लो समय समुदाय स्तरमा नसर्ने रोगहरुका कारण धेरै समस्या आउने भएकोले नेपाल सरकारले नै फागुन महिनालाई नसर्ने रोगहरूको शीघ्र पहिचानका लागि समुदाय स्तरमा शिविर सञ्चलनको लागी स्थानीय तहलाई दिएको निर्देशन अनुसार शिविर सञ्चालन गरिएको र शिविरमा प्रेसर, सुगर, उचाइ अनुसारको तौल मापन र मृगौलाको अवस्थाका बारेमा लगायतका रोगहरूको परिक्षण गरिने र चिकित्सक द्वारा आवश्यक परामर्श दिने कमल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बिनु थापाले जानकारी दिए । शिविरमा आएका सेवाग्राहीलाई कमल गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्यकर्मीको प्राविधिक टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श प्रदान गरेका थिए ।