
कमल / झापाको कमल गाउँपालिका–२ स्थित कमल नगर अस्पतालको दोश्रो वार्षिकोत्सवको अवसरमा विशेषज्ञ डाक्टरहरुको सेवासहित वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बिहीबार अस्पताल परिसरमा आयोजना गरिएको शिविरको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका थिए ।
शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईले कमलबासीहरुको स्वास्थ्य सेवालाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले अस्पतालको सेवालाई आगामी दिनमा समय सापेक्ष र फराकिलो बनाउँदै यसको स्तरोन्नती र विकासलाई प्राथमिकतामा राखिएको सुनाए । स्वास्थ्य शिविरमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगरकी महिला रोग विशेषज्ञ डाक्टर रीना साह, डा. दृष्टी भट्टराई (महिला रोग विशेषज्ञ), नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. विजय साह, इन्टरनल मेडिसिन विशेषज्ञ डा. मुकेश साहसहितको टोलीले सेवा प्रदान गरेको छ । यस्तै बिर्ताज्योति आँखा अस्पताल दमकबाट अशोक तिवारी, पवित्रा मगर र प्रज्ञा कटुवालसहितको टोलीले सेवा प्रदान गरेको छ ।
शिविरमा चिकित्सकहरुले आवश्यकता अनुसार कतिपय बिरामीहरुलाई थप उपचारका लागि सम्बन्धित विभागमा सिफारिस गरेका थिए ।
अस्पतालमा आमा डेन्टल क्लिनिकको सहयोगमा हप्ताको दुई दिन (आइतबार र बिहीबार) दन्त परीक्षण तथा दन्त एक्स–रे सेवा पनि प्रदान गरिँदै आएको छ । आगामी चैत्र महिनाभित्रै हप्ताको एक दिन निःशुल्क आँखा परीक्षण सेवा सञ्चालन गर्ने तयारी भइरहेको अस्पतालका कार्यालय प्रमुख दिपक दाहालले जानकारी दिए । अस्पताल सञ्चालनमा आएपछि वार्षिक ३० हजार भन्दा बढी सेवाग्राहीले अस्पतालबाट सेवा लिएको अस्पतालका कार्यालय प्रमुख दाहालले बताए ।
अस्पतालले प्रसूति सेवा पनि सुचारु गरेपछि अहिले मासिक ७/८ जना गर्भवती महिला प्रसूती गराउन अस्पतालमा आउने गरेका छन् । यसअघि अस्पतालमा प्रसूती गराउनेको संख्या न्यून हुने गरेको थियो ।

शिविरमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगर डा. रीना साह – स्त्री रोग विशेषज्ञ डा. विजय साह नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मुकेश साह इन्टरनल मेडिसिन विशेषज्ञ, त्यस्तै आमा डेन्टल क्लिनिक दमक बाट डा.संगीता बराल, डा. सुस्मिता नेपाल, सारना जबेगु, त्यसैगरी बिर्ता ज्योति आँखा अस्पताल दमकका अशोक तिवारी, पवित्रा मगर, प्रज्ञा कटुवाल लगायतका स्वस्थ्यकर्मीहरुबाट विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले दन्त परीक्षण गराएकी थिइन् । शिविरमा वडा अध्यक्ष अशोक सुब्बा, कार्यपालिका सदस्य पदम सुन्दास, वडा सदस्य भिम सिंह कार्की, पत्रकार, संचारकर्मी, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । शिविरलाई कमल गाउँपालिकाका नर्सिङ्ग कर्मचरी, आम्दा अस्पतालबाट दैनिक सेवा दिइरहेका डा. अजित साह, अस्पतालका स्वास्थ्यकर्मी कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका हरुले सहजीकरण गरेका थिए ।
वृहत स्वास्थ्य शिविरमा जम्मा १ हजार ३४ जनाले सेवा लिएका थिए । जसमा इन्टरनल मेडिसिनमा ३४५ जानाले सेवा लिएका थिए भने ८६ जना बालबालिकाहरुको स्वास्थ्य जाँच गरिएको थियो । दन्त परीक्षण सेवा १९० जनाले लिएका थिए । शिविरमा आँखा जाँच तथा उपचार ३१६ जनाले गरेका थिए भने ९७ जना महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा लिएका थिए । शिविरमा प्रायः महिलामा अनियमित रक्तस्राव, योनीस्राव (योनीबाट निस्कने पदार्थ), पेट दुख्ने , गर्भाशय खस्ने समस्या (गर्भाशय अर्गला/गर्भाशय झर्ने जास्ता रोगका बिरामी धेरै भेटिएको डा. दृष्टि भट्टराई (स्त्री रोग विशेषज्ञ) ले जानकारी दिए । त्यसैगरी रिफ्राक्टिभ ईरोर (चश्मा लगाउनु पर्ने समस्या), सुख्खा आँखा, आँखाको संक्रमण, सामान्य एलर्जी जस्ता समस्या आँखाका बिरामीहरु आएको अशोक तिवारी (सिनियर अप्थाल्मिक अफिसर) ले जानकारी दिए । २० जना मोतिया बिन्दुका बिरामीलाई अप्रेसनको सल्लाह दिइएको पनि अशोक तिवारी (सिनियर अप्थाल्मिकक अफिसर) ले बताए । यसैगरी गिजाको समस्या, र्हसो, दाँत खिएको, दाँत किराले खाएको, दाँत हल्लिने समस्या भएका बिरामी धेरै आएका डा. संगीता बरालले जानकारी दिइन् । बच्चाहरुमा प्रायः छातीको चिसो लागेको संक्रमण, टाइफाइड, पिसाबमा संक्रमण, खोकी, ज्वरो जस्ता बिरामीहरुले सेवा लिएको डा. विजय साहले बताए । जनरल फिजिसियनको सेवा लिन छाती, दम, आस्मा, ज्वरो, प्रेसर, दाद, कान दुख्ने संक्रमण भएको, टाउको दुख्ने, हातजोर्नी दुख्ने जस्ता सेवाग्राहीहरु धेरै आएको डा. मुकेस कुमार साहले जानकारी दिए ।

स्वास्थ्य शिविरमा आवश्यक औषधीको व्यवस्था ग्रेस फर्मास्यूटिकल प्रा. लि. ले तथा सो कम्पनीका आरुह दास, डि सि आई फर्मास्यूटिकल तथा सो कम्पनीका जीवन सापकोटा र एन एम एस आर ए मेची युनिटबाट प्राप्त भएको कमल नगर अस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य भुवन निधिले जानकारी दिए ।
समापन सत्रमा सहयोग गर्ने स्वास्थ्य संस्थालाई कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले प्रशंसा पत्र प्रदान गरेका थिए साथै सबै विशेषज्ञ डाक्टर, नर्स , कर्मचारीलाई अध्यक्ष राईले मायाको चिनो दिएका थिए । आगामी दिनमा सेवा विस्तार सँगै यस्ता सामुदाय स्तरका कार्यक्रम पनि गर्दै जाने प्रतिबद्धता सहित अध्यक्ष राईले कार्यक्रम समापन गरेका थिए ।