समाचार

कमल नगर अस्पतालको वार्षिकोत्सव : आज वृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिँदै

कमल/ झापाको कमल गाउँपालिका मातहतमा रहेको कमल नगर अस्पतालको वार्षिक उत्सव अवसरमा आज फागुन १ गते बिहीबार निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदैछ । निःशुल्क स्वास्थ्य शिविर सो अस्पतालको हातामा बिहान ९ बजेदेखि वृहत रुपमा हुँदैछ । शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा निःशुल्क उपचार, परामर्श तथा औषधी वितरण गर्ने कार्यक्रम रहेको छ ।
स्वास्थ्य सेवाहरू विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल (विराटनगर), बिर्ता ज्योति आँखा अस्पताल (दमक) र आमा डेन्टल क्लिनिक (दमक) का विशेषज्ञ स्वास्थ्यकर्मीहरूले प्रदान गर्दैछन् । स्वास्थ्य शिविरमा सहभागी चिकित्सक तथा विशेषज्ञ टोली विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगरबाट डा. रीना शाह – स्त्रीरोग विशेषज्ञ डा. विजय शाह – नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मुकेश शाह – इन्टरनल मेडिसिन विशेषज्ञ साथै नर्सिङ स्टाफ र अस्पतालका अन्य कर्मचारीहरूको टोलीले सेवा उपलब्ध गराउने कार्यक्रम रहेको कमल नगर अस्पतालका प्रमुख दिपक दाहालले जानकारी गराए ।
अस्पताल प्रमुख दाहालका अनुसार आमा डेन्टल क्लिनिक दमकबाट डा. संगीता बराल, डा. सुस्मिता नेपाल र सारना जबेगुबाट दन्त परीक्षण सेवा प्रदान गरिँदैछ । बिर्ताज्योति आँखा अस्पताल दमकबाट अशोक तिवारी, पवित्रा मगर, प्रज्ञा कटुवालबाट निःशुल्क आँखा परीक्षण तथा उपचार हुँदैछ । साथै, आवश्यक परेमा थप उपचारका लागि सम्बन्धित विभागमा सिफारिस गरिने व्यवस्था समेत रहेको छ ।
यसैबीच कमल नगर अस्पताल व्यवस्थापनले सम्पूर्ण नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ । कमल नगर अस्पतालले तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै स्वास्थ्य बिमा कार्यक्रमसहित सेवा विस्तार गरी २०७९ फाल्गुन १ गतेदेखि सञ्चालन गरिरहेको छ । यसअघि तोपगाछी स्वास्थ्य चौकीमा वार्षिक ८/९ हजार बिरामी आउने गरेका थिए, तर अस्पताल सञ्चालनमा आएपछि बिरामीको संख्या ३० देखि ३५ हजार वार्षिक पुगेको छ । अस्पतालले प्रसूति सेवा पनि स्तरोन्नति गरेपछि अहिले मासिक ७/८ जना गर्भवती महिला प्रसूति गराउन आउने गरेका छन्, जबकि एक वर्षअघि यो संख्या शून्य थियो ।
यस्तै सो अस्पतालले नयाँ सेवाहरूको विस्तार २०८१ जेठ १७ गतेदेखि ल्याब सेवा (प्रयोगशाला सेवा) नयाँ भवनबाट सञ्चालन गरिरहेको छ । यि सेवाको विस्तारपछि प्रयोगशाला परीक्षण गराउने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ । २०८१ असोज १६ गतेदेखि प्रत्येक महिनाको तेस्रो बुधबार मानसिक रोग विशेषज्ञ डा. नवराज कोइरालाको टोलीद्वारा नियमित मानसिक स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । यसले बिरामीहरूलाई टाढा जानुपर्ने झन्झट हटाएको छ । आमा डेन्टल क्लिनिकको सहयोगमा हप्ताको दुई दिन (आइतबार र बिहीबार) दन्त परीक्षण तथा दन्त एक्स–रे सेवा पनि प्रदान गरिँदै आएको छ । अब आगामी चैत्र महिनाभित्रै हप्ताको एक दिन निःशुल्क आँखा परीक्षण सेवा सञ्चालन गर्ने तयारी भइरहेको पनि अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *