कमल/ काठमाडौं खेवाङ हातेमालो समाज (ताप्लेजुङ) ले ९३ वर्षीय एक वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा झापाको कमल गाउँपालिका वडा नं. ५ नमुना टोल निवासी ९३ वर्षीय छविलाल गौतम रहेका छन् ।
गौतमलाई निजकै निवासमा एक कार्यक्रमको आयोजना गरी विहीबार सम्मान पत्र, नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मान कार्यक्रमको आयोजक काठमाडौं खेवाङ हातेमालो समाजका केन्द्रीय अध्यक्ष नीतिरमण गौतम र पूर्व केन्द्रीय अध्यक्ष देवी प्रसाद गौतमले वरिष्ठ ज्येष्ठ नागरिक गौतमलाई सम्मान प्रदान गरेका थिए । ताप्लेजुङको खेवाङबाट झापा झरेका गौतमलाई निजले युवा उमेर र त्यसपछिको जीवनमा गरेको राष्ट्र सेवा, सामाजिक कार्य तथा सो संस्था समाजलाई गरेको योगदानको कदर गर्दै सम्मान गरिएको काठमाडौ खेवाङ हातेमालो समाजले जनाएको छ । गौतम खेवाङ समाजका हाल रहेकामध्ये सबैभन्दा ज्येष्ठ आजीवन सदस्य पनि हुन् । सम्मानित गौतम नेपाल प्रहरीको पूर्व हवल्दार र खेवाङ गाउँपालिकाका पूर्व सचिव समेत हुन् । उनी पछिगएर सोही तत्कालिन गाउँ पंचायतमा वडाध्यक्ष हुँदै उपप्रधानपञ्च समेत भएका थिए । गौतमले एक राष्ट्रसेवक कर्मचारी, सामाजिक अभियन्ता तथा धार्मिक व्यक्तित्वका रुपमा आफ्नो जीवनको अमूल्य समय विताएको निजको परिवारले जनाएको छ ।
कार्यक्रममा झापाको साविक लखनपुर गाविसका अध्यक्ष भोजकुमार घिमिरे, कमल गाउँपालिका–५ का वडा सदस्य ओम कुमार प्रधान, नेकपा एमाले कमल–५ को वडा कमिटीको अध्यक्ष खगेन्दं्र तिवारी, आयोजक समाजका केन्द्रीय सल्लाहकार सदस्य नारायण प्रसाद चौंलागाई, समाजका केन्द्रीय पदाधिकारी, स्थानीय सामाजिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन गरेको खेवाङ झापा हातेमालो समाजका अध्यक्ष यामनाथ दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन लक्ष्मी प्रसाद चौंलागाईले गरेका थिए । परिवारको तर्फबाट छविलालका जेठा छोरा तथा नेकपा एमाले झापा जिल्ला कमिटीका सचिवालय सदस्य नारायण प्रसाद गौतमले धन्यवाद मन्तव्य राखेका थिए । छविलाल गौतम एमाले झापा जिल्ला कमिटी सदस्य नर्वदा गौतमका ससुराबुवा हुन् । त्यस अवसरमा सहभागी स्थानीयले पनि ज्येष्ठ नागरिक छविलाल गौतमलाई खादा र फलफूल दिएर सम्मान गरेका थिए ।
